संक्रमण दरसँगै दैनिक मृत्यु संख्या पनि घट्दै
SamacharDesk – बिकाश | २०७८ भाद्र ३०, बुधबार

नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको दर दिनानुदिन घट्ने क्रम जारी रहेको छ । हाल आएर परिक्षणको तुलनामा दैनिक १० प्रतिशतको हाराहारीमा नयाँ संक्रमितहरु भेटिने गरेका छन् ।
आज बुधबार पनि कुल परिक्षण संख्याको १० दशमलव ४४ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । आरटी पिसिआर र एन्टिजेन गरी जम्मा १६ हजार ८४४ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा एक हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो ।
भाद्र महिना लागेयता दैनिक नयाँ संक्रमणको दरमा कमी आउन थालेको हो ।
हालसम्म ४० लाख ५७ हजार ३८३ वटा स्वाब नमूनाको परिक्षण भएकोमा ७ लाख ८० हजार ८२४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ५ लाख २४ हजार ४८५ एन्टिजेन परिक्षणमा ८७ हजार ८४१ जना संक्रमित भेटिएका छन् ।
कुल संक्रमितमध्ये ९५ दशमलव २ प्रतिशत निको भइसकेका छन् । हालसम्म ७ लाख ४३ हजार ५२६ जना संक्रमित निको भइसके । पछिल्लो २४ घण्टामा जम्मा एक हजार २२० जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
यसै अवधिभित्र थप ७ जना संक्रमितको मृत्यु भएको छ । कोभिड संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजारको नजिक पुगेको छ । हालसम्म १० हजार ९९१ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ ।
आजको मितिमा जम्मा २६ हजार ३०७ सक्रिय संक्रमित उपचाररत छन् । २४ हजार ६८३ जना संक्रमित होम आइसोलेसनमा छन् भने संस्थागत आइसोलेसनमा उपचार संक्रमितको संख्या एक हजार ६२४ रहेको छ ।
आइसीयूमा उपचाररत ४०७ जना संक्रमितमध्ये १२९ जना संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
Categorized in राष्ट्रिय