मृतकको संख्यामा नयाँ रेकर्ड, एकैदिन ५५ संक्रमितको मृत्यु
SamacharDesk – बिकाश | २०७८ बैशाख २१, मंगलबार

नेपालमा पछिल्लो पटक थप ७ हजार ६६० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
एन्टिजेन र आरटी पिसिआर गरी जम्मा १६ हजार ७०२ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा ७ हजार ६६० जनामा संक्रमण भएको देखिएको हो । परिक्षण संख्याको तुलनामा यो ४५ दशमलव ८६ प्रतिशत हो ।
थप भएका नयाँ संक्रमितमध्ये ९ वर्षसम्मका १७४ जना छन् भने १० देखि १९ वर्ष उमेर समूहका ४५२ जना छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ३ लाख ५१ हजार ५ जना पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप एक हजार ७७५ जना संक्रमित निको पनि भएका छन् । पछिल्ला केही दिनमा नयाँ संक्रमितको संख्या उकालो लागेसँगै निको हुनेको संख्या पनि विस्तारै बढ्दैछ । हालसम्म २ लाख ८७ हजार ७९० जना संक्रमित निको भइसकेका छन् ।
संक्रमणका कारण मृत्यु हुनेको संख्याले पनि नयाँ रेकर्ड बनाएको छ । पछिल्लो पटक थप ५५ जना संक्रमितको मृत्यु भएको छ । कोभिड संक्रमणका कारण हालसम्ममा ३ हजार ४१७ जना संक्रमितले ज्यान गुमाइसके ।
सक्रिय संक्रमितको संख्या ६० हजारको नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार हाल ५९ हजार ७९८ सक्रिय संक्रमित विभिन्न संस्थागतको साथै होम आइसोलेसनमा उपचाररत छन् ।
Categorized in राष्ट्रिय