कोरोना संक्रमण निको हुनेको दर ९७ प्रतिशत
SamacharDesk – बिकाश | २०७७ पौष १७, शुक्रबार

नेपालमा कोरोना संक्रमण निको हुनेको दर बढ्दै गइरहेको छ । यहि क्रममा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्याङ्क अनुसार निको हुनेको दर ९७ प्रतिशत पुगेको छ ।
नेपालमा हालसम्म २ लाख ६१ हजार १९ जनालाई कोरोना संक्रमण भइसकेको छ भने तीमध्ये २ लाख ५३ हजार एक सय ७ जना निको भइसकेका छन् ।
हाल २ दशमलव ३२ प्रतिशतमात्र सक्रिय संक्रमित उपचाररत अवस्थामा छन् ।
पछिल्लो पटक ४ सय २६ जना नयाँ संक्रमित थप हुँदा ७ सय ४८ जना संक्रमित निको भएका छन् ।
काठमाडौं उपत्यकामा पनि संक्रमण निको हुनेको दर उच्च रहेको छ । काठमाडौं उपत्यकाको कुल संक्रमितमध्ये ९६ दशमलव ६२ प्रतिशत निको भइसके ।
काठमाडौं उपत्यकामा हालसम्म एक लाख २१ हजार ५ सय २३ जनालाई कोरोना संक्रमण भइसक्दा एक लाख १७ हजार ४ सय २३ जना कोरोनाभाइरसलाई पराजित गर्न सफल भइसके ।
संक्रमण दर बढ्दै गरेको अवस्थामा परिक्षण संख्या निकै कम हुँदा भने जनस्वास्थ्यविद्हरु भाईरसको नयाँ प्रजाति भित्रिने सम्भावना बढेको भन्दै चिन्तित छन् ।
Categorized in राष्ट्रिय