arin enterprises

संक्रमितको संख्या ५८४ पुग्यो, थप ३६ जनामा संक्रमण पुष्टि

SamacharDesk – विकाश | २०७७ जेठ १०, शनिबार

नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३५ जना पुरुष र एक जना महिलामा संक्रमण पुष्टि भएको जनाएको हो ।

सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा वैतडि शिवनाथ गाउँपालिकाका ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । सेती अस्पतालमै रहेका ४ जनाको आरडिटि परिक्षणमा पोजेटिभ देखिएपछि पिसिआर परिक्षण गरिँदा नतिजा पोजेटिभ नै आएको हो । 

संक्रमण पुष्टि हुनेमा २० वर्षीय दुई जना, २२ र २७ वर्षका एक एक जना पुरुषहरु रहेका छन् ।

त्यसैगरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ३३ वर्षीय पुरष एकजनामा संक्रमण देखिएको छ । झापा गाउँपालिका झापाका उनी डिल्लीराज मावि क्वारेन्टाइनमा बसिरहेका थिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नमूना परिक्षणमा बाँके नरैनापुर मदर्साका ६ जनामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा १७ देखि ३२ वर्ष उमेर समूहका रहेका छन् ।

नरैनापुर ३ बाँकेको राष्ट्रिय प्रावि गेगलीमा संकलन गरिएको नमूना परिक्षणमा १५ जनाको नतिजा पोजेटिभ आएको छ । १६ देखि ३२ वर्ष उमेर समूहका १५ जना पुरुषमा संक्रमण पोजेटिभ देखिएको हो ।

बाँके नरैनापुर १ को राष्ट्रिय प्रावि स्कूल महातनियामा संकलन गरिएको नमूना परिक्षणमा ६ जनाको नतिजा पोजेटिभ देखिएको छ । संक्रमण पुष्टि हुनेहरु २२ देखि ५० वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् ।

बर्दिया बढैयाताल ७ का एक जना १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । 

सुर्खेतको प्रयोगशालामा गरिएको परिक्षणमा २ जना पुरुष र १ जना महिलाको नतिजा पोजेटिभ आएको छ । संक्रमितहरुको विस्तृत विवरण संकलन गर्दै गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित संख्या ५ सय ८४ पुगेको छ । तीमध्ये पुरुष ५ सय ५ जना र महिला ७९ जना रहेका छन् ।

इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको पहलमा संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ शुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये ७० जना उपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

भाइरसले प्रभाव पारेको संक्रमित जिल्लाको संख्या भने ४० पुगेको छ ।

आज साँझसम्मको तथ्याङ्क अनुसार आजै ६८ जनामा संक्रमण पुष्टि भइसकेको छ । आज विहानै मात्र ३२ जनामा संक्रमण पुष्टि भएको थियो ।

Categorized in राष्ट्रिय