arin enterprises

नयाँ संक्रमित थप संख्या आजसम्मकै उच्च, एकैदिन १८९ जनामा कोरोना पुष्टि

SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ १७, शनिबार

नेपालमा थप एक सय ८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार देशैभरीका विभिन्न ७ वटा प्रयोगशालामा गरिएको स्वाब परिक्षणबाट एक सय ८५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंको टेकुस्थित राष्ट्रि«य जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा एक सय २४ जनाको नतिजा पोजेटिभ देखाएको छ । जसमध्ये धनुषाका २० देखि ४२ वर्षीय पुरुषहरु ७ जना, कपिलवस्तुका १६ देखि ६० वर्ष उमेर समूहका ७७ जना रहेका छन् ।

त्यस्तै, रौतहटका १८ देखि ४५ वर्ष उमेर समूहका ६ जना, महोत्तरीका २५ देखि ५५ वर्षसम्मका ४ जना, सर्लाहीका १६ देखि ४० वर्षसम्मका १७ जना र सिराहाका १७ देखि ४० वर्षीय पुरुषहरुमा पनि संक्रमण पुष्टि भएको छ । 

त्यसैगरी झापाका ४५ वर्षीय पुरुष एक जना र ललितपुरका २३ वर्षीय महिला एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको छ जसमध्ये सबैजना कपिलवस्तु यशोधराका १५ देखि ५० वर्षीय पुरुषहरु हुन् ।

धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु सप्तरीका १८ देखि २८ वर्षीय समूहका ८ जना पुरुष र एकजना महिला हुन् । 

यसैगरी नारायणी अस्पताल, वीरगञ्जमा गरिएको परिक्षणमा ३ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । बारा, हर्दियाका २४ वर्षीय पुरुष एकजना, पर्सा पसौनीका १८ वर्षीय पुरुष र ६० वर्षीय महिला संक्रमित भएका हुन् ।

त्यस्तै राप्ती विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा थप ८ जनाको संक्रमण पुष्टि भएको छ । जस अन्तर्गत, विजयपुर कपिलवस्तुका २६ देखि ५२ वर्षीय पुरुष ३ जना, दाङ हापुरेका ३० वर्षीय पुरुष एक जना, र दाङकै वगलाचुलीका ४ जनामा २७ देखि ३८ वर्षीय पुरुष ३ जना र २८ वर्षीय महिला एकजना छन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा थप १४ जनामा संक्रमण पुष्टि भएको छ । सबैजना दैलेख जिल्लाका १७–५० वर्ष उमेरका पुरुषहरु हुन् ।

यस्तै विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षणमा गत २४ घण्टामा २ जनाको पि.सी.आर. टेस्ट रिपोर्ट पोजिटिभ आएको छ । उनीहरु संखुवासभा निवासी हुन् । एकजना खाँडबारीका २३ वर्षीय पुरुष हुन् भने अर्को पाँचखपनका २२ वर्षीय पुरुष हुन् ।

योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड–१९)बाट संक्रमित हुनेहरुको संख्या एक हजार ४ सय एक पुगेको छ भने ५३ जिल्लामा संक्रमण फैलिएको छ ।

तीमध्ये प्रदेश नम्बर १ का ९ जिल्लामा एक सय ६० जना, प्रदेश नं. २ का आठवटै जिल्लामा ५सय ४७ जना, बागमति प्रदेशका १२ जिल्लामा ४५ जना संक्रमित छन् । 

त्यस्तै गण्डकी प्रदेशका ५ जिल्लामा २० जना, प्रदेश नं. ५ का ९ जिल्लामा ५ सय ४७, कर्णाली प्रदेशका ३ जिल्लामा ६१ जना र सुदुरपश्चिम प्रदेशका ७ जिल्लामा २१ जना संक्रमितहरु पुष्टि भइसकेका छन् ।

तीमध्ये २ सय १९ जना संक्रमण निको भएर घर फर्केका छन् भने मृत्यु हुनेको संख्या ६ पुगेको छ । 

हालसम्म पि.सी.आर विधिबाट ६६ हजार ७ सय २९ र आर.डि.टी. विधिबाट १ लाख ७ हजार ५५ वटा परिक्षण भएका छन् भने पछिल्लो २४ घन्टामा २ हजार ५ सय ७५ वटा पिसिआर विधिबाट र १ हजार ५ सय ७७ वटा आरडिटि विधिबाट परिक्षण भएको छ ।

हाल देशैभरीको विभिन्न अस्पतालको आइसोलेसन वार्डमा एक हजार एक सय ७६ उपचाररत् छन् ।

Categorized in राष्ट्रिय