arin enterprises

१६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ १८, आइतबार

नेपालमा थप १६६ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये १६२ जना पुरुष छन् भने ४ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल भरीका ८ वटा प्रयोगशालामा गरिएको स्वाब परिक्षणबाट सोमबार थप एक सय ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या एक हजार ५ सय ६७ पुगेको छ । 

तीमध्ये प्रदेश नम्बर एकको ९ जिल्लामा ए सय ६५ जना संक्रमित छन भने प्रदेश २ का ८ वटै जिल्लामा ६ सय २४ जना छन् । 

त्यसैगरी बागमति प्रदेशका १२ जिल्लामा ४५ जना, गण्डकी प्रदेशका ६ जिल्लामा २३ जना, प्रदेश ५ का ९ जिल्लामा ५ सय ६० जना, कर्णाली प्रदेशका ५ जिल्लामा एक सय २३ जना र सुदुरपश्चिम प्रदेशका ७ जिल्लामा २७ जना संक्रमित छन् ।

२ सय २० जना संक्रमितहरु उपचारपछि निको भएर घर फर्केका छन । 

मृत्यु हुनेको संख्या भने आज थप दुई जनाको मृत्यु पुष्टि भएसँगै ८ पुगेको छ ।

हाल एक हजार ३ सय ४४ जना आइसोलेसनमा उपचाररत छन् ।

 

आज संक्रमण पुष्टि हुनेहरुको विवरण

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा ३ जनाको नतिजा पोजेटिभ आएको छ । तनहुँ रिसिङका २८ वर्षीय पुरुष, स्याङ्जा गल्यानका २७ र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पताल वीरगंजको प्रयोगशालामा गरिएको परिक्षणमा ५ जना पोजेटिभ देखिएका छन् । उनीहरु स्थानीय क्वारेन्टाइनमा बसिरहेका पर्सा अटेरवा सुगौलीका २२ देखि ३६ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परिक्षणमा थप ३७ जनामा संक्रमण पुष्टि भएको छ । 

कालिकोट जिल्ला, शुभकालिकाका १९ देखि ५२ वर्षका १३ जना, कालिकोटकै महवाइ गाउँपालिकाका २० देखि ४२ वर्ष उमेरका ५ जना पुरुष संक्रमित देखिएका छन् । 

दैलेखका विभिन्न स्थानमा १८ जनामा संक्रमण पुष्टि भएको छ ।

दैलेख जिल्लामा डुल्लुका ३५ वर्षीय, रातापानीका ३८ वर्षीय, सिम्डाका २६ वर्षीय र साधुका २२ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको छ ।

दैलेखकै नारायण नगरपालिकाका १६ देखि ४८ वर्षका पुरुषहरु ९ जना, दैलेखकै देवलकानका १८ देखि २२ वर्षीय पुरुष ५ जनामा संक्रमण भेटिएको हो । 

त्यसैगरी बाजुरा, जुजुनाथका ४० वर्षीय पुरुष पनि संक्रमित देखिएका हुन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, सुर्खेत र पशुपछि अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको छ । 

सल्यान कुपेन्देका ११ देखि ६० वर्ष उमेरका पुरुष २५ जनामा संक्रमण देखिएको छ भने सुर्खेतको बराहतालका ४ महिने बालिका समेत संक्रमित भएकि छिन् ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिल्वस्तु, शिवराजका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । 

यसैगरी भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परिक्षणमा ८ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । बाँके जिल्लाका नरैनापुरका २१ र २५ वर्षीय पुरुष दुई जना, बाँके खजुराका ३० वर्षीय पुरुष, बाँके बैजनाथका ३५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ भने नेपालगंजका १६ देखि ४२ वर्ष उमेरका ४ जना पुरुषहरु पनि संक्रमित भएका हुन् ।

धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा १२ जना पोजिटिभ देखिएका छन् । उनीहरु सबै सप्तरी, राजगढका हुन् भने १७ देखि ४५ वर्षसम्म पुरुषहरु रहेका छन् । 

त्यस्तै सेती अस्पतालमा गरिएको परिक्षणमा थप ५ जनाको संक्रमण पुष्टि भएको छ 

कैलाली, भजनीका २३ वर्षीय पुरुष, जानकी गाउँपालिकाका ३४ वर्षीय पुरुष र कैलालीकै त्रिनगर क्वाराइन्टाइनमा रहेका ४७ वर्षीय पुरुष संक्रमित देखिएका छन् ।

त्यसैगरी बाजुरा अस्पतालमा २ वर्षे बालिका र २३ वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएका छन् ।

यस्तै विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षणमा गत २४ घण्टामा ५ जनाको पि.सी.आर. टेस्ट रिपोर्ट पोजिटिभ आएको छ । झापा, गौरीगंजका २३ देखि ३९ वर्ष उमेर समूहका चार जना पुरुषको साथै मोरङ विराटनगरका ४५ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

काठमाडौंको टेकुस्थित राष्ट्रि«य जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा थप ६४ जनाको टेस्ट नतिजा पोजेटिभ देखाएको छ । 

जसमध्ये धनुषा मुखियापट्टि क्वारेन्टाइनमा रहेका १९ देखि ४६ वर्षीय २१ जना पुरुषहरु, कपिलवस्तु महाराजगञ्जका २५ देखि ४१ वर्षीय पुरुषहरु चार जनाको नतिजा पनि पोजिटिभ देखिएको छ ।

रौतहटका क्वारेन्टाइनमा रहेका ३ जना बालकहरु सहित २९ जनामा संक्रमण पुष्टि भएको छ । ४, ९ र १२ वर्षीय बालकहरु सहित ५२ वर्षसम्मका पुरुषमा संक्रमण पुष्टि भएको हो । 

सर्लाहीका एक वर्षीय बालकमा समेत संक्रमण पुष्टि भएको छ ।

हालसम्म पिसीआर विधिबाट गरिएको परिक्षणको संख्या ६९ हजार ५ सय ८२ र आरडिटी विधिबाट परिक्षणको संख्या १ लाख ११ हजार एक सय ९ पुगेको छ । पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट २ हजार ८ सय ५३ र आरडिटि विधिबाट ४ हजार ५४ वटा परिक्षण भएका छन् ।

Categorized in राष्ट्रिय