arin enterprises

थप १३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या १८११

SamacharDesk – विकाश | २०७७ जेठ १९, सोमबार

नेपालमा थप १३ जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये एक जना बालिकासहित १२ जना पुरुषहरु रहेका छन् । तिनीहरु ३ देखि ५४ वर्ष उमेर समूहका हुन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ ।

पछिल्लो समय संक्रमण पुष्टि हुनेमा पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरुषहरु दुई जना रहेका छन् भने नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक समेत रहेका छन् ।

त्यसैगरी गुल्मी रेसुङ्गा नगरपालिकाका २६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तु मायादेवी गाउँपालिकामा १९ देखि ४० वर्षीय पुरुष ७ जना पनि संक्रमित देखिएका छन् ।

त्यस्तै रुपन्देही गैडहवा गाउँपालिकामा ५४ वर्षीय पुरुषको साथमा ३ वर्षीय बालिकाको पनि कोरोनो पोजेटिभ देखिएको छ ।

आज साँझ मात्रै २ सय १३ जनामा संक्रमण पुष्टि भएको थियो ।

नेपालमा कुल संक्रमितमध्ये २ सय २१ जना उपचार पछि निको भएर घर फर्केका छन् भने ८ जनाको मृत्यु भएको छ ।

Categorized in राष्ट्रिय