थप २०१ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २३००
SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ २१, बुधबार

भारतबाट नेपाल फर्किनेहरु र परिक्षणको संख्या बढेसँगै यहाँ संक्रमितको संख्या पनि व्हात्तै बढेको छ । पछिल्लो समय दिनकै २ सयको हाराहारीमा नयाँ संक्रमितहरु भेटिरहेका छन् ।
आजै पनि नेपालमा थप २ सय १ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये १७९ जना पुरुष छन् भने २२ जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल भरीका ११ वटा प्रयोगशालामा गरिएको स्वाब परिक्षणबाट सोमबार थप दुई सय एक जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । जसमध्ये २१३० जना पुरुष र १७० जना महिला रहेका छन् ।
साथै आज २ सय एक जनामा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोनाभाईरस (कोभिड १९) बाट सर्वाधिक असर गरेको मूलुकमा ८८औँ स्थानमा पुगेको छ ।
नेपालमा संक्रमण देखिने जिल्लाहरुमा ताप्लेजुङ, पाँचथर र तेह्रथुम थप भएसंगै कूल संक्रमित हुने जिल्लाहरुको संख्या ६४ पुगेको छ ।
यस संक्रमणलाई जितेर निको हुनेको संख्या भने २ सय ७८ पुगेको छ । आजैमात्र देशका विभिन्न अस्पतालबाट थप १२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
कोरोनाभाइरस (कोभिड १९) संक्रमितको मृत्यु संख्या भने ९ पुगेको छ । आजैमात्र दोलखाका ७६ वर्षीय वृद्धको मृत्यु भएको हो ।
हाल एक हजार ८ सय २५ जना आइसोलेसनमा उपचाररत छन् ।
हालसम्म पिसीआर विधिबाट गरिएको परिक्षणको संख्या ८० हजार २ सय ६७ र आरडिटी विधिबाट परिक्षणको संख्या १ लाख २० हजार ३ सय ७९ पुगेको छ ।
पछिल्लो २४ घण्टाभित्र ४ हजार ९ सय २४ वटा पिसीआर र ४ हजार ३४ वटा आरडिटी विधिबाट परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
