नयाँ संक्रमित वृद्धि संख्या अहिलेसम्मकै उच्च, एकैदिन ३३४ जनामा संक्रमण पुष्टि
SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ २२, बिहिबार

आज एकैदिन ३ सय बढिमा संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनहरुमा २ सयको हाराहारीमा नयाँ संक्रमित वृद्धि भइरहेकोमा आज एकैपल्ट ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभरका १३ वटा विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा ३ सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरुमध्ये ३ सय १९ जना पुरुष रहेका छन् भने १५ जना महिला हुन् ।
योसँगै नेपाल कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । तीमध्ये २ हजार ४ सय ५० पुरुष र एक सय ८४ जना महिला हुन् ।
कुल संक्रमितमध्ये एक सय ९७ जना प्रदेश एकका १२ जिल्लाका छन् भने सबभन्दा बढि प्रदेश २ मा सबै १२ वटा जिल्लाका ९ सय ६३ जना छन् ।
त्यसैगरी वागमती प्रदेशका १२ जिल्लामा ५९, गण्डकी प्रदेशका ७ जिल्लामा ५३, प्रदेश ५ का ८ जिल्लामा ८ सय ९८ जना संक्रमित छन् ।
कर्णाली प्रदेशको ६ जिल्लामा ३ सय ८३ जना र सुदुरपश्चिमको ९ जिल्लामा ८१ जनामा संक्रमण भएको छ ।
तीमध्ये २ सय ९० जनालाई संक्रमण निको भइसकेको छ । आजैमात्र नारायणी अस्पताल र कलैया अस्पतालबाट १२ जना निको भएर डिस्चार्ज भएका छन् ।
त्यसैगरी आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या १० पुगेको छ ।
परिक्षण बढेसँगै संक्रमितको संख्या पनि दिनानुदिन थप हुँदै गइरहेको अवस्थामा सबैलाई सतर्क र सचेत हुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
