arin enterprises

भक्तपुर र काठमाडौंमा आज पनि भेटिए संक्रमित

SamacharDesk – विकाश | २०७७ आषाढ १०, बुधबार

पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ५ सय १९ जना पुरुष र एक सय १० जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ ।

आज पनि भक्तपुरमा एक महिला र काठमाडौंमा एक पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै कैलालीमा मात्रै ३८ महिला र एक सय १३ पुरुष गरी एक सय ५१ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

त्यसैगरी कन्चनपुरमा १६ महिला र ७० पुरुष गरी ८६ जनामा संक्रमण देखिएको छ ।

आजको तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ । तीमध्ये ९ हजार ६ सय ३४ जना पुरुषहरु छन् भने एक हजार ९४ जना महिला हुन् ।

कोरोना संक्रमण निको हुनेको संख्या दुई हजार तीन सय ३८ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १ सय १४ जना संक्रमितहरु निको भई विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।

देशभरमा आजसम्ममा पिसिआर विधिबाट १ लाख ९३ हजार १ सय ९४ र आरडिटी विधिबाट २ लाख ८३ हजार ६ सय १९ वटा परिक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ६ हजार ८ सय २८ र आरडिटी विधिबाट १२ हजार एक सय १२ वटा परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ७८ हजार ६ सय ३९ हुँदा आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ८ हजार ३ सय ६६ जना रहेको छ ।

हालसम्म यहाँ कोरोना संक्रमणका कारण २४ जनाको ज्यान गइसकेको छ ।

Categorized in राष्ट्रिय