संक्रमित संख्या १२ हजार नजिक, आज पनि काठमाडौंमा संक्रमित भेटिए
SamacharDesk – विकाश | २०७७ आषाढ १२, शुक्रबार

नेपालमा थप ५ सय ९३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ सय ८६ जना पुरुष र एक सय ७ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमितहरुको कुल संख्या ११ हजार ७ सय ५५ पुगेको छ । तीमध्ये १० हजार ५ सय ६ जना पुरुषहरु छन् भने एक हजार २ सय ४९ जना महिला हुन् ।
पछिल्लो परिक्षणमा दाङमा मात्रै १४ महिला र ६१ पुरुष गरी ८५ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी पाल्पामा पनि एक महिला र ७५ जना पुरुष गरी ७६ जनाको परिक्षणको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
त्यसैगरी रौतहट ४ महिला र ५२ पुरुषमा संक्रमण देखिएको छ ।
आज पनि टेकु अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंमा ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
हालसम्ममा रसुवा बाहेक नेपालका ७६ वटै जिल्लामा संक्रमण फैलिसकेको छ ।
कोरोना संक्रमण निको हुनेको संख्या दुई हजार ६ सय ९८ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ४८ जना संक्रमितहरु निको भई विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।
देशभरमा आजसम्ममा पिसिआर विधिबाट २ लाख ६ हजार २ सय ७१ र आरडिटी विधिबाट २ लाख ९० हजार ३ सय ४९ वटा परिक्षण भएका छन् ।
पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ६ हजार ५ सय ३४ र आरडिटी विधिबाट २ हजार ४ सय ८६ वटा नमूनाहरुको परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ७१ हजार १२ हुँदा आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ९ हजार ३० जना रहेको छ ।
हालसम्म यहाँ कोरोना संक्रमणका कारण २७ जनाको ज्यान गइसकेको छ । हिजो मृत अवस्थामा दाङमा भेटिएकी महिलाको परिक्षणको नतिजामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय