arin enterprises

संक्रमितको संख्या १२ हजार नाघ्यो

SamacharDesk – विकाश | २०७७ आषाढ १३, शनिबार

पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ४ सय ३४ जना पुरुष र एक सय २० जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ । 

आजको तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १२ हजार ३ सय ९ पुगेको छ । तीमध्ये १० हजार ९ सय ४० जना पुरुषहरु छन् भने एक हजार ३ सय ६९ जना महिला हुन् ।

आज पनि काठमाडौंमा एक महिला र ३ पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी भक्तपुरमा पनि एक जना पुरुषमा संक्रमण देखिएको छ ।

बाजुरामा ३३ महिला र ५३ जना पुरुष गरी ८६ जना नयाँ संक्रमित भेटिएका छन् । डोटीमा ७३ जनामा संक्रमण देखिएको छ । तीमध्ये ४० जना महिला छन् भने ३३ जना पुरुष रहेका छन् । प्यूठानमा ३ महिला र ४६ जना पुरुष संक्रमित पुष्टि भएको छ ।

रसुवामा ८ जना महिला र एक पुरुष गरी ९ जनामा संक्रमण देखिएसँगै देशका ७७ वटै जिल्लामा संक्रमण फैलिएको छ ।

कोरोना संक्रमण निको हुनेको संख्या दुई हजार आठ सय ३४ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १ सय ३६ जना संक्रमितहरु निको भई विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।

देशभरमा आजसम्ममा पिसिआर विधिबाट २ लाख १० हजार ८ सय ७६ र आरडिटी विधिबाट २ लाख ९४ हजार ३४ वटा परिक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ४ हजार ६ सय ६ र आरडिटी विधिबाट ३ हजार ६ सय ८५ वटा परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६५ हजार ७ सय १२ हुँदा आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ९ हजार ४ सय ४७ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । कैलाली जिल्ला गोदावरी नगरपालिकाका ५० वर्षीय पुरुषको आजै विहान मृत्यु भएको हो ।

Categorized in राष्ट्रिय