उपत्यकाभित्रै १४ जना संक्रमित थपिए
SamacharDesk – विकाश | २०७७ आषाढ १६, मंगलबार

नेपालमा थप ३ सय १६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ७१ महिला र २ सय ४५ जना पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ ।
योसँगै कुल संक्रमित संख्या १३ हजार ५ सय ६४ पुगेको छ । तीमध्ये एक हजार ६ सय ५७ महिला र ११ हजार ९ सय ७ जना पुरुषहरु रहेका छन् ।
आज पनि काठमाडौं उपत्यकाभित्रका तीनवटै शहरमा संक्रमित भेटिएका छन् । काठमाडौंमा ५ महिला र ७ पुरुष गरी १२ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी ललितपुरमा एक पुरुष र भक्तपुरका एक महिला पनि संक्रमित भेटिएका छन् ।
बाजुरामा १७ महिला र ३४ पुरुष गरी ५१ जना नयाँ संक्रमित थपिएका छन् । डोटीमा १४ महिला र १६ पुरुष गरी ३० जनामा संक्रमण देखिएको छ ।
महोत्तरीमा २९ जना, सप्तरीमा २६ जना, दाङमा २१ जना, पाल्पामा १८ जनामा संक्रमण देखिएको छ ।
कोरोना संक्रमण निको हुनेको संख्या ३ हजार एक सय ९४ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ६० जना संक्रमितहरु निको भएका छन् ।
देशभरमा आजसम्ममा पिसिआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ र आरडिटी विधिबाट २ लाख ९७ हजार ८ सय ७१ वटा परिक्षण भएका छन् ।
पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ४ हजार ७ सय ११ वटा नमूनाको परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ५३ हजार ७० छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या १० हजार ३ सय ४१ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
Categorized in राष्ट्रिय