संक्रमितको संख्या १४ हजार नाघ्यो
SamacharDesk – विकाश | २०७७ आषाढ १७, बुधबार

नेपालमा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमितको संख्या १४ हजार नाघेको छ ।
आज थप ४ सय ८२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १४ हजार नाघेको हो ।
आज संक्रमण पुष्टि हुनेमा एक सय १७ महिला छन् भने ३ सय ६५ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको छ । तीमध्ये एक हजार ७ सय ७४ जना महिला र १२ हजार २ सय ७२ जना पुरुषहरु रहेका छन् ।
कोरोना संक्रमण निको हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ ।
देशभरमा आजसम्ममा पिसिआर विधिबाट २ लाख ३३ हजार २ सय २७ र आरडिटी विधिबाट ३ लाख ६ सय २० वटा परिक्षण भएका छन् ।
पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ४ हजार ८ सय ८६ वटा र २ हजार ७ सय ४९ जनाको आरडिटी नमूनाको परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ४८ हजार ३ सय ६२ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ९ हजार ३ सय ३० जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ । गत १४ गते वयलपाटा अस्पतालमा मृत्यु हुने अछामका ४५ वर्षीय पुरुषको स्वाब परिक्षणमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
Categorized in राष्ट्रिय