arin enterprises

काठमाडौंमा २ सहित ११६ जना संक्रमित थप

SamacharDesk – विकाश | २०७७ आषाढ ३०, मंगलबार

नेपालमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण दिनहुँ नियन्त्रणमा आउँदै गरेको देखिरहँदा काठमाडौंमा भने नयाँ संक्रमित थप हुने क्रम रोकिएको छैन ।

कोरोना संक्रमणको तथ्याङ्कलाई हेर्ने हो भने संक्रमितको सक्रिय संख्या भन्दा निको हुनेको संख्या बढि छ ।

आजसम्ममा १७ हजार ६१ जनामा संक्रमण हुँदा १० हजार ३ सय २८ जना निको भईसके भने आइसोलेसनमा रहेर उपचाररत सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय ९५ रहेको छ ।

दिनहुँ नयाँ संक्रमितको संख्यामा कमि आउँदै गरेको र निको हुनेको संख्यामा उल्लेख्य वृद्धि हुँदै गरेको अवस्थामा आम सर्वसाधारणमा केही राहतको महसूस हुँदै गरेको छ ।

तर अर्कोतर्फ काठमाडौंमा निरन्तर रुपमा दिनहुँ नयाँ संक्रमित भेटिँदै गएको र यहाँ समुदायस्तरमा संक्रमण फैलिएको विज्ञहरुको आशंकाले भने काठमाडौंवासीमा त्रास पनि थपेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको तथ्याङ्क अनुसार थप एक सय १६ जना नयाँ संक्रमित थप भएका छन् । 

तीमध्ये २ जना काठमाडौंका रहेका छन् । आज ललितपुर र भक्तपुरमा संक्रमण देखिएको छैन ।

 

अन्य कुन स्थानमा कति संक्रमित थपिए 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका २५ प्रयोगशालामा गरिएको परिक्षणमा १६ वटा प्रयोगशालाबाट ३१ जिल्लामा नयाँ संक्रमित भेटिएका छन् । 

तीमध्ये सबैभन्दा बढि धनुषाबाट २१ जना रहेका छन् भने महोत्तरीबाट १९ र अछामबाट १४ जना रहेका छन् ।

त्यसैगरी दैलेखमा ६ जना र कैलाली, पाल्पा र दाङमा ५/५ जना संक्रमित थप भएका छन् ।

जुम्लामा ४ जनामा संक्रमण पुष्टि हुँदा धनकुटा, प्यूठान, रोल्पा र अर्घाखाँचीमा ३/३ जना संक्रमित थपिएका छन् ।

इलाम, पर्सा, गोरखा, नवलपरासी पूर्व र काभ्रेपलान्चोकमा २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

सिराहा, सुनसरी, तेहथुम, झापा, नुवाकोट, रौतहट, सिन्धुली, ओखलढुङ्गा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कन्चनपुरबाट एक/एक जना संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय