arin enterprises

८ सय बढिमा संक्रमण पुष्टि, संक्रमित संख्या ३० हजार नाघ्यो

SamacharDesk – बिकाश | २०७७ भाद्र ५, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ३८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

तीमध्ये २ सय ९२ जना महिला र ५ सय ४६ जना पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३० हजार नाघेको छ । अहिलेसम्ममा नेपालमा कोरोना संक्रमितको कुल संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।

पछिल्लो पटक दुइ सय ५० जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या १८ हजार २ सय १४ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ५ लाख ७९ हजार ८ सय ९९ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १३ हजार ५ सय ७९ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १२ हजार २ सय ३४ रहेको छ । 

सक्रिय संक्रमितको संख्या १२ हजार एक सय ३२ जना रहेका छन् । तीमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४६ र ३ हजार ३ सय ५ सय ८६ होम आइसोलेसनमा छन् ।

दुइ दिनयताबाट आइसीयू र भेन्टिलेटरमा उपचार गराउने विरामीको संख्या पनि बढेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हाल आइसीयूमा एक सय ३३ जना उपचाररत छन् भने भेन्टिलेटरमा १५ जना उपचाररत रहेको र १५ जना सबै वागमती प्रदेशमै रहेको प्रवक्ता डा. गौतमले बताएका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ३७ पुगेको छ । आज एकैपल्ट थप ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय