एक हजार ७४१ नयाँ संक्रमित, ४ हजार ५ निको
SamacharDesk – बिकाश | २०७७ कार्तिक १०, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ७ सय ४१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ सय ७७ जना महिला छन् भने एक हजार ६४ जना पुरुष रहेका छन् ।
आजको नयाँ संक्रमितमध्ये तीन सय ८० महिला र ५ सय १५ पुरुष गरी आठ सय ९४ जना काठमाडौं उपत्यकाका रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ५९ हजार ८ सय ३० पुगेको छ ।
पछिल्लो पटक चार हजार पाँच जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख १५ हजार ६ सय ७५ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १३ लाख ९८ हजार एक सय ७९ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा पाँच हजार ६ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या दुई हजार ९ सय ६९ रहेको छ ।
सक्रिय संक्रमितको संख्या ४३ हजार दुई सय ९३ जना रहेका छन् । तीमध्ये २२ हजार तीन सय २९ जना काठमाडौं उपत्यकामै रहेका छन् ।
संस्थागत आइशोलेशनमा १० हजार ६ सय ८६ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या ३२ हजार ६ सय ७ रहेका छन् ।
देशभरमा दुई सय ८५ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ६४ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा २८, प्रदेश २ मा १०, वागमती प्रदेशमा एक सय ८२, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ४३, कर्णाली प्रदेशमा चार र सुदुरपश्चिम प्रदेशमा पाँच जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा १० जना, प्रदेश दुईमा दुई, वागमती प्रदेशमा ४३, गण्डकी प्रदेशमा एक जना र लुम्बिनी प्रदेशमा ८ जना गरी ६४ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्ला मुस्ताङ मात्रै रहेको छ ।
५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ, रुपन्देही, बाँके, कैलाली र सुर्खेत रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको छ । आज थप १५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय