कोरोनाका कारण मृत्यु हुने १९ सय नाघ्यो
SamacharDesk – बिकाश | २०७७ पौष २३, बिहिबार

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९ सय नाघेको छ ।
पछिल्लो २४ घन्टामा थप ४ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक हजार ९ सय ३ पुगेको हो ।
दिनहुँ जसो कोरोना संक्रमितको मृत्यु हुने क्रम जारी रहे पनि मृत्यु दरमा भने खासै फरक देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार आजको मितिमा नेपालमा कोरोनाका कारण हुने मृत्यु दर ० दशमलव ७२ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घन्टामा गरिएका स्वाब नमूनाको परिक्षणमा ८ दशमलव ०२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
देशैभरीका कोभिड प्रयोगशालाहरुमा गरिएको जम्मा ५ हजार एक सय ३२ स्वाब नमूनाको परिक्षणमा एक सय ८२ महिला र २ सय ३० पुरुष गरी ४ सय १२ जनामा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये एक सय ११ महिला र एक सय ४० पुरुष गरी २ सय ५१ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा एक सय ९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जना नयाँ संक्रमित थप भएका छन् ।
कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ । कुल परिक्षण संख्या भने १९ लाख ६९ हजार २ सय ९२ पुगेको छ ।
पछिल्लो पटक ४ सय ८२ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ५६ हजार ६ सय ४४ जना संक्रमित निको भइसकेका छन् ।
सक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको छ । तीमध्ये एक हजार ५ सय ६१ जना होम आइसोलेसनमा छन् भने ३ हजार ४ सय ९७ संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
संक्रमितको संख्या शुन्य रहेका जिल्लाहरु डोल्पा, मुगु र सोलुखुम्बु छन् भने ५ सय बढि संक्रमित काठमाडौं जिल्लामा मात्रै छन् । काठमाडौंमा २ हजार ४ सय ४३ जना सक्रिय संक्रमित उपचाररत छन् ।
Categorized in राष्ट्रिय