परिक्षणको ८.४४ प्रतिशतमा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ पौष २५, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का ३ सय ६२ जना नयाँ संक्रमित भेटिएका छन् । ४ हजार २ सय ८६ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा एक सय ५९ महिला र २ सय ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये ९१ महिला र एक सय ३ पुरुष गरी एक सय ९४ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक काठमाडौंबाट एक सय ५३, ललितपुरबाट २३ र भक्तपुरबाट १८ जना नयाँ संक्रमित भेटिएका छन् ।
आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण हुनेको कुल संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ । त्यस्तै आजसम्ममा १९ लाख ७८ हजार ८ सय ४७ वटा स्वाब नमूनाको परिक्षण भएको छ ।
गएको २४ घन्टाभित्रमा ६ सय ९९ जना संक्रमित निको भएका छन् । योसँगै कोरोना संक्रमण निको हुनेहरुको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना संक्रमण निको हुनेको दर ९७ दशमलव ५ प्रतिशत रहेको छ ।
पछिल्लो पटक ३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक हजार ९ सय १२ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ८१ रहेको छ । तीमध्ये एक हजार ३ सय ८९ होम आइसोलेसनमा छन् भने ३ हजार २ सय ९२ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
सोलुखुम्बु र मुगुमा संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित भएको जिल्ला काठमाडौं मात्रै छ । काठमाडौंमा हाल २ हजार २ सय ३३ जना सक्रिय संक्रमित उपचाररत छन् ।
Categorized in राष्ट्रिय