arin enterprises

४३० नयाँ संक्रमित थप, ३९० निको

SamacharDesk – बिकाश | २०७७ पौष २८, मंगलबार

नेपालमा गएको २४ घन्टामा थप ४ सय ३० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । ५ हजार ३ सय वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा एक सय ७७ महिला र २ सय ५३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये एक सय १५ महिला र एक सय ४४ पुरुष गरी २ सय ५९ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा २ सय २१, ललितपुरमा २९ र भक्तपुरमा २९ जना नयाँ संक्रमित थप भएका छन् ।

नेपालमा हालसम्म २ लाख ६५ हजार ६ सय ९८ जनालाई कोभिड संक्रमण भइसकेको छ । स्वाब नमूनाको आरटी पिसिआर परिक्षणको कुल संख्या भने १९ लाख ९२ हजार ८ सय ५५ पुगेको छ ।

पछिल्लो पटक ३ सय ९० जना कोरोना संक्रमित निको भएका छन् । आजसम्ममा कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको छ ।

थप ५ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९ सय ३२ पुगेको छ ।

४ हजार ४ सय ८ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये २ हजार २ सय ८० जना संस्थागत आइसोलेसनमा छन् भने २ हजार एक सय २८ संक्रमित होम आइसोलेसनमा छन् ।

ताप्लेजुङ, रुकुमपश्चिम, मुगु र बाजुरा जिल्लामा संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि संक्रमित भएको जिल्ला काठमाडौंमात्रै रहेको छ । काठमाडौंमा हाल २ हजार २ सय ४१ सक्रिय संक्रमित उपचाररत छन् ।

Categorized in राष्ट्रिय