नयाँ संक्रमण घट्दो दरमा, निको हुने बढ्दै
SamacharDesk – बिकाश | २०७७ माघ ६, मंगलबार

पछिल्ला दिनहरुमा सरकारले कोरोना भाईरसको परिक्षण घटाएको भन्दै निकै आलोचना भइरहेको छ । परिक्षणको संख्या घटाइएको भएपनि नयाँ संक्रमणको दर भने घट्दै गएको र निको हुने दर बढ्दै गएको देखिएको छ ।
पछिल्ला दिनहरुको तथ्याङ्कलाई हेर्ने हो भने परिक्षणको १० प्रतिशतभन्दा कममा मात्र कोभिड १९ संक्रमण देखिरहेको छ ।
पछिल्लो २४ घन्टामा पनि परिक्षणको ७ दशमलव ०२ प्रतिशतमा मात्र कोभिड संक्रमण पुष्टि भएको छ । ४ हजार ९ सय ५६ जनाको स्वाब नमूना परिक्षण गरिएकोमा ३ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये एक सय २९ महिला र २ सय १९ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ ।
संक्रमण निको हुनेको दर पनि बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण निको हुनेको दर ९७ दशमलव ९ प्रतिशत पुगेको छ ।
हालसम्म कुल संक्रमितमध्ये २ लाख ६२ हजार २ सय ५९ जनाले कोरोना भाईरसलाई परास्त गर्दै निको भएका छन् । पछिल्लो २४ घन्टामा ४ सय ४१ जना निको भएका छन् ।
मृत्यु दर अझै पनि एक प्रतिशतभन्दा तल नै छ । नेपालमा कोरोनाका कारण हुने मृत्युको दर ० दशमलव ७३ प्रतिशत रहेको छ ।
गएको २४ घन्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म जम्मा एक हजार ९ सय ६९ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
जम्मा आरटी पिसिआर परिक्षण संख्या २० लाख २१ हजार ७ सय १४ पुगेको छ ।
संस्थागत र होम आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ६४ रहेको छ । तीमध्ये ८ सय ४४ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् भने होम आइसोलेसनमा २ हजार ९ सय २० जना छन् ।
सोलुखुम्बु, भोजपुर, नवलपरासी (पश्चिम), कालिकोट, रुकुमपश्चिम र मुगु गरी ६ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ ।
त्यस्तै ५ सय बढि सक्रिय संक्रमित भएको जिल्लामा काठमाडौं मात्रै रहेको छ । काठमाडौंमा हाल २ हजार एक सय ९३ सक्रिय संक्रमित उपचाररत छन् ।
Categorized in राष्ट्रिय