arin enterprises

३ प्रतिशतमा मात्र संक्रमण पुष्टि, निको हुनेको संख्या बढ्दै

SamacharDesk – बिकाश | २०७७ माघ १७, शनिबार

नेपालमा तुलनात्मक रुपमा कोभिड संक्रमणको दर घट्दै गएको देखिएको छ । पछिल्ला दिनहरुमा स्वाब नमूनाहरुको परिक्षण अनुसार नयाँ संक्रमितको दरमा कमी देखिएको छ ।

गएका दिनहरुमा परिक्षणको २५ प्रतिशतसम्ममा पनि संक्रमण देखिएको थियो । त्यो बेलामा जनस्वास्थ्यविद्हरुले संक्रमण वृद्धिको अवस्था भयावह बनेको भनेर समेत विश्लेषण गरेका थिए ।

अहिले ५ प्रतिशतको हाराहारीमा मात्र संक्रमण देखिरहेकोमा आज ३ प्रतिशत मात्र संक्रमित भेटिएको छ ।

पछिल्लो २४ घन्टामा ३ हजार ६ सय १८ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा एक सय ९ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ४३ जना महिला छन् भने ६६ जना पुरुष रहेका छन् ।

हालसम्म नेपालमा कोरोना भाईरसबाट २ लाख ७० हजार ८ सय ५४ जना संक्रमित भइसकेका छन् ।

निको हुनेको संख्या पनि उच्च रहेको छ । कुल संक्रमितमध्ये २ लाख ६६ हजार ४८ जना निको भइसकेका छन् । गएको २४ घन्टामा ३ सय ५० जना संक्रमित निको भएका छन् ।

थप एक जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार २७ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ३ हजार भन्दा तल रहेको छ । हाल २ हजार ७ सय ७९ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये ८ सय ४४ जना देशका विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् भने एक हजार ९ सय ३५ जना होम आइसोलेसनमा छन् ।

कालिकोट, रुकुमपश्चिम र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित रहेको जिल्ला काठमाडौं मात्रै छ ।

सावधानी अपनाउनुपर्नेमा जनस्वास्थ्यविद्हरूकाे जाेड

नयाँ संक्रमितको संख्यामा दिनहुँ कमी आएको सँगसँगै निको हुनेको संख्या बढ्दै जानुले नेपालमा कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आउँदै गरेको देखिन्छ ।

यसैबीच नेपालमा पनि काेराेनाविरूद्ध खाेप वितरण शुरू भइसकेकाे अवस्थामा कतिपयले अब चाँडै नै सामान्य अवस्थामा फर्किन सकिने अनुमान पनि लगाइरहेका छन् ।

तर परिक्षणको संख्या पनि घट्नुमा भने जनस्वास्थ्यविद्हरुले चिन्ता पोखेको छन् ।

परिक्षणमा सक्रियता नदेखाउँदा संक्रमणको दोश्रो लहर आउनसक्ने खतरा जनस्वास्थ्यविद्हरुले औंल्याइरहेका छन् ।

सामाजिक दुरी, मास्क, स्यानिटाइजरको प्रयोगको साथमा साबुन पानीले हात धुने लगायतका स्वास्थ्य सुरक्षाका उपायहरु जारी राख्नुपर्नेमा जनस्वास्थ्यविद् र चिकित्सकहरुले जोड दिइरहेका छन् ।

Categorized in राष्ट्रिय