एकैदिनमा १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६९
SamacharDesk – बिकाश | २०७७ बैशाख २१, आइतबार

नेपालमा आज एकैदिनमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज बाँकेको नेपालगञ्जमा ९ जना र वीरगंजमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालगञ्जमा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालगंजका संक्रमित मध्ये ५ पुरुष र ४ महिला छन् । उनीहरु ७ देखि ५८ वर्ष उमेरका छन् ।
बाँकेमा १९ वैशाखमा संक्रमण पुष्टि हुने पुरुषको सम्पर्कमा आएकाको नमूना परिक्षणमा ९ जनामा संक्रमण देखिएको हो ।
नेपालगञ्ज उपमहानगरले टोलटोलमा गएर परीक्षण गर्दा ९ जनामा संक्रमित फेला परेको बताइएको छ ।
शनिबार नेपालगञ्ज उपमहानगरका वडा नम्बर ५, ७ र ८ वडा र नरेनापुर गाउँपालिकाभित्रका विभिन्न वडाका गरी ९० जनाको स्वाब परीक्षण गरिएकोमा ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमित ९ जनालाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिने बताइएको छ ।
त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उनको शुक्रबार स्वाब संकलन गरिएको थियो ।
उनलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जनाइएको छ ।
उनी लकडाउनको समयदेखि नै घरमै रहँदै आएको बताएका छन् ।
संक्रमित देखिएका पर्सा र नेपालगन्जको उक्त क्षेत्रलाई सिल गरिने भएको छ।
उपचार गरेर घर गएका रौतहटका एक युवालाई भने आइतबार फेरि अस्पताल भर्ना गरिएको छ।
आज १० जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।
तीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
Categorized in राष्ट्रिय