arin enterprises

वीरगंजमा थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु समेत संक्रमित

SamacharDesk – विकाश | २०७७ बैशाख २४, बुधबार

नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पर्साका १७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिनुभयो ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा वीरगंज पर्साका १७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । आज संक्रमण पुष्टि हुने १७ जनामध्ये एक जना दुई महिने शिशु समेत रहेको छ ।

संक्रमित हुनेहरु २ महिनाका शिशुदेखि ६६ वर्ष उमेरसम्मका रहेको पनि देवकोटाले जानकारी दिनुभयो ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

आज थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य रहेको बताइएको छ ।

वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय पुरुषलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परीक्षणको क्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोगेटिभ आएको छ ।

संक्रमित १७ जनालाई नारायणी अस्पतालमा भर्ना गरी उपचार गरिने बताइएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । ९९ मध्ये २२ जना उपचारपछि संक्रमण निको भएर घर फर्किसकेका छन् ।

साथमा गत वैसाख ११ गते संक्रमण निको भई डिस्चार्ज भएका काठमाडौं सनसिटिका ५८ वर्षीय पुरुषको फलो अपमा नमूना परिक्षण गर्दा रिपोर्ट फेरी पोजेटिभ आएको पनि देवकोटाले जानकारी दिनुभयो । उनलाई पाटन अस्पतालमा आइसोलेसनमा भर्ना गरीएको छ ।

साथै बैसाख १४ गते डिस्चार्ज भएको रौतहटका १९ वर्षीय पुरुष र पर्साका ४४ वर्षीय पुरुषको नमून परिक्षणको रिपोर्ट पनि पुनः पोजेटिभ आएको र उनीहरुलाई नारायणी अस्पताल वीरगंजमा भर्ना गरिएको छ ।

प्रेस व्रिफिङको क्रममा देवकोटाले परिक्षणको सामग्री मौज्दात संख्याको हिसाबले परिक्षणमा केही दिन कमी आएको र अबको केही दिनमै सामग्रीको व्यवस्थापन सहित परिक्षण बढाइने पनि बताए ।

Categorized in राष्ट्रिय