कपिलवस्तुमा देखियो दुइ युवामा कोरोना संक्रमण, संक्रमितको संख्या सय नाघ्यो
SamacharDesk – विकाश | २०७७ बैशाख २५, बिहिबार

नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या सय नाघेको छ । आज कपिलवस्तुमा दुई युवाको परिक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि नेपालमा संक्रमितको संख्या १ सय १ पुगेको छ ।
आज कपिलवस्तुमा १६ वर्ष र २२ वर्ष उमेरका युवाहरुमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार भएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरू दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा अहिलेसम्म २२ जनालाई यो रोग निको भइसकेको छ भने तीमध्ये तीन जनामा पुनः संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
काठमाडौंका ५८ वर्षीय पुरुषमा पुनः संक्रमण देखिएपछि पाटन अस्पताल भर्ना गरिएको छ भने रौतहटका १९ वर्षीय पुरुष र पर्साका ४४ वर्षीय पुरुषमा पनि पुनः संक्रमण देखिएपछि नारायणी अस्पताल वीरगंजमा भर्ना गरिएको छ ।
Categorized in राष्ट्रिय