नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १०९
SamacharDesk – शिवेश शर्मा | २०७७ बैशाख २७, शनिबार

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार उदयपुर र कपिलवस्तुमा ३/३ जना र पर्सामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि हुनेमा उदयपुर झुल्केका १८, ४५ र ६५ वर्षीया महिलाहरु, कपिलवस्तुका १७ वर्षका एक र १८ वर्षका दुई जना पुरुषको साथमा पर्सा जिल्ला छपकैयाका ६३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौँको साथै कोशी अस्पताल, विराटनगरमा गरिएको परीक्षणमा उनीहरुको नतिजा पोजेटिभ आएको हो ।
सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कुरा मन्त्रालयले जनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित कोरोना संक्रमण पुष्टि भएका तीनैजनाको यस अघि गरिएको कोरोनाको टेस्टमा नेगेटिभ रिपोर्ट आएको थियो ।
शंका लागेर पुनः नमूना संकलन गरी परीक्षण गर्दा ती महिलाहरुमा पोजिटिभ रिपोर्ट देखिएको हो ।
यसअघि संकलन गरिएका थ्रोट स्वाब ढिलो परीक्षण गरिएको कारण भुल्केमा पुनः नमूना संकलन गरिएको थियो ।
गत बैशाख ५ मा उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका १६ जना मध्ये १२ जना जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी ६ बैशाखमा १ अनि ८ र ९ बैशाखमा थप १५ जनामा संक्रमण पुष्टि भएपछि जिल्ला नै सिल्ड गरिएको थियो ।
यससँगै प्रदेश १ मा ३४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने उदयपुर जिल्लामा मात्रै संक्रमितको संख्या ३१ पुगेको छ । तीमध्ये १४ जना कोशी अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
देशैभरमा उपचारपछि निको भएर घर फर्किनेको संख्या भने ३१ पुगेको छ ।
Categorized in राष्ट्रिय