भुल्केमा थप एक जनामा देखियो कोरोना संक्रमण
SamacharDesk – विकाश | २०७७ बैशाख २७, शनिबार

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा थप एक जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।
विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो।
दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा संक्रमण देखिएको हो ।
४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरले जनाएको छ ।
आज बिहान मात्र उदयपुरका तीन जनासँगै ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कपिलबस्तुका तीन र पर्साका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै आजैमात्र उदयपुरमा ४ र देशैभरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विहान संक्रमण पुष्टि भएका उदयपुरका ३ जना महिलालाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ ।
साँझमा थप भएकि संक्रमितलाई भने भोलि अस्पताल पठाइने तयारी भएको छ ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
देशैभरिमा कोरोना संक्रमितको संख्या भने एक सय १० पुगेको छ । तीमध्ये ३१ जना निको भइसकेका छन् । निको भएकामध्ये ३ जनामा पुनः संक्रमण देखिएर उपचारका लागि अस्पताल भर्ना भएका छन् ।
Categorized in राष्ट्रिय