arin enterprises

कपिलवस्तुमा देखियो थप १० जनामा कोरोना संक्रमण

SamacharDesk – विकाश | २०७७ बैशाख २९, सोमबार

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु सबै कपिलवस्तुका हुन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमि गाउँपालिका ७ र १० निवासी हुन् । उनीहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरु हरु छन् ।

एक जना पुरुषको भने उमेर खुलेको छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना भाइरस पुष्टि भएको हो ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको बताइएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ । तीमध्ये ३३ जना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् । निको हुनेमा पनि ३ जनामा भने पुनः संक्रमण देखिएर अस्पताल भर्ना भएका छन् ।

 

लकडाउनमै भारतबाट लुकिछिपि नेपाल आएका थिए संक्रमितहरु

आज पुष्टि भएका सबै संक्रमित एक साताअघि भारतको मुम्बई र पन्जाबबाट नेपाल आएको खुलेको छ ।

लकडाउनकै समयमा उनीहरु सुरक्षाकर्मीको आँखा छलेर लुकिछिपी दशगजा क्षेत्रबाट कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिकामा छिरेका हुन् ।

भारतबाट आएको थाहा पाएपछि उनीहरुलाई स्थानीयवासीको सहयोगमा गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो ।

क्वारेन्टाइनमा बसेका २ सय ९० जनाको स्वाब शनिबार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकामा ९९ जनाको परीक्षण भएको भएको थियो ।

९९ जनामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्यको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

पछिल्लो समय संक्रमण पुष्टिहरु प्राय सबैजसो भारतबाटै आएकाहरु हुन् ।

भारतीय सीमाबाट लुकिछिपी नेपाल आउने क्रम रोकिएको छैन । यस्तो अवस्थामा कपिलवस्तु लगायत भारतीय सीमासँग जोडिएका क्षेत्रहरुमा कोरोनाको जोखिम बढेको छ ।

Categorized in राष्ट्रिय