arin enterprises

उपत्यकाभित्रै संक्रमित भेट्टियो, संक्रमित संख्या २१७

SamacharDesk – विकाश | २०७७ बैशाख ३०, मंगलबार

नेपालमा आजै थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बेलुकी थप भएका २६ जना मध्ये काठमाडौं र भक्तपुरका पनि रहेका छन् । 

मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै पर्सा, महोत्तरी, धनुषा, सर्लाहीको साथै काठमाडौं र भक्तपुरमा पनि संक्रमण देखिएको जनाएको हो । 

मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीका अनुसार आज थप संक्रमण पुष्टि हुने २६ जनामध्ये पर्सा जिल्लाका १८ जना रहेका छन् । 

तिनीहरुमध्ये २२, ३२, ४५, ६० वर्षका एक एक जना र २८ वर्षका दुई जना महिलाहरु र १६, २२, २४, ३२, ५९, ५५ वर्षका एक एक जना, २५ २८, र ६१ वर्षका दुई दुई जना पुरुष रहेका छन् ।

यसैगरी महोत्तरी जिल्लाका १६ र ३५ वर्षका पुरुष, धनुषाका २० वर्षीया महिला र ४० पुरुष र सर्लाहीका ४५ वर्षीय पुरुष रहेका छन् ।

काठमाडौंमा ३३ वर्षीया महिला र भक्तपुरमा २५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

पछिल्लो तीन दिनमा संक्रमितको संख्या बढ्दै गएको छ ।

आज एकैदिन ८३ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।

आजै विहान ५७ जनामा संक्रमण पुष्टि भएको थियो भने बेलुकी फेरी २६ जनामा संक्रमण देखिएको हो ।

सोमबार २४ जनामा संक्रमण पुष्टि भएको थियो ।

आज ८३ जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २१७ पुगेका छन् । 

तीमध्ये ३४ जना उपचार गरी घर फर्किएका छन् । उपचार गरेर घर गएका तीन जनामा पनि पुनः संक्रमण देखिएपछि उनीहरू अहिले अस्पतालमा उपचाररत छन् । 

Categorized in राष्ट्रिय