थप २४ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या २४३ पुग्यो
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ बैशाख ३१, बुधबार

आज बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुशार रुपन्देहीमा ९ पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
तिनीहरुमा २५, २८, ३०, ३३, ४१ वर्षका एक एक जना, २२ र ३२ वर्षका दुई दुई जना पुरुष छन् भने २८ वर्षकी महिलासँगै ४ र १० वर्षकी बालिका समेत रहेकी छिन् ।
त्यसैगरी कपिलवस्तुमा ८ पुरुषहरुमा २२, २९, ३२ वर्षका एक एक जना, ४० वर्षका ३ जना र ४२ वर्षका दुई जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
साथै पर्सामा ३६ वर्षीय र ७४ वर्षीय पुरुष एक एक जना, ३६ वर्षीय एक महिला र नवलपरासीमा ३६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
आजै दिउँसो मात्रै बाँकेमा एकजना र कपिलवस्तुमा एकजना गरि दुई जनामा संक्रमण देखिएको थियो ।
थप २४ जनामा संक्रमण पुष्टि भएसँगै बुधबार कुल २६ जनामा संक्रमण देखिएको छ ।
उनीहरु सबैको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या २४३ पुगेको छ । तीमध्ये ३५ जना निको भएर घर फर्किसके भने निको भएका ३ जनामा पुनः संक्रमण देखिएको छ ।
Categorized in राष्ट्रिय