७ वर्षे बालकसहित ३ संक्रमित थप, कुल संक्रमित संख्या २४९
SamacharDesk – विकाश | २०७७ जेठ १, बिहिबार

काठमाडौंका सात वर्षे बालकसहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थप संक्रमण पुष्टि हुनेमा काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित जनकपुर धनुषाकी १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा तिनीहरुमा संक्रमण पुष्टि भएको हो ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
यसअघि, आजै दिउँसो ३ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये काठमाडौं महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी ६ वर्षीया बालिका समेत रहेकि छिन् ।
योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।
तीमध्ये ३५ जना निको भइसके भने निको भएका ३ जनामा पुनः संक्रमण देखिएर अस्पतालमा उपचाररत छन् ।
Categorized in राष्ट्रिय