थप १० जनामा कोरोना देखियो, कूल संक्रमित २९१
SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ ४, आइतबार

नेपालमा थप १० जनामा कोरोनाभाइरस (कोभिड) १९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि हुने १० जना सबै रौतहटका पुरुषहरु हुन् ।
रौतहटका राजपुर नगरपालिका फरहदवा–९ निवासी १८, ३२, ३६, ३९, २९, ४२, ४८ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो ।
त्यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरुमा पनि संक्रमण पुष्टि भएको छ ।
काठमाण्डौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ती १० जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले दिनुभएको जानकारी अनुसार नयाँ पुष्टि भएका संक्रमित १० जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको छ ।सबै जना स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।
योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।
तीमध्ये ३६ जनालाई संक्रमण निको भइसकेको छ, निको भएका ३ जनामा पुनः संक्रमण देखिएपछि अस्पतालमा उपचाररत छन् ।
एक संक्रमितको मृत्यु समेत भइसकेको छ । शनिबारमात्रै धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक बाह्रविसे, राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोना संक्रमणका कारण निधन भएको हो ।
Categorized in राष्ट्रिय