कोरोना अपडेट : विश्वभरी संक्रमित ३९ लाख नाघ्दा १३ लाख बढि निको भए
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ बैशाख २६, शुक्रबार

गत २०१९ डिसेम्बर महिनामा पहिलो पटक चीनको उहानमा भेटिएको कोरोनाभाइरस (कोभिड(१९) बाट अहिले विश्वभरीमा संक्रमित हुनेको संख्या ३९ लाख २० हजार ३ सय ५२ जना पुगेको छ ।
यसबाट मृत्यु हुनेको संख्या भने २ लाख ७० हजार ७ सय ९७ जना पुगेको छ भने उपचार पछि निको हुनेको संख्या १३ लाख ५२ हजार ६ सय ९५ जना पुगेको छ ।
सबभन्दा बढि संक्रमित अहिले अमेरिकामा छ । अमेरिकामा यस रोगबाट संक्रमित हुनेको संख्या १२ लाख ९३ हजार ८० जना पुगेको छ । न्यूयोर्कमा मात्रै संक्रमित हुनेको संख्या ३ लाख २९ हजार ४ सय ५ जना पुगेको छ । कुल संक्रमित मध्ये निको हुनेको संख्या २ लाख १७ हजार ४ सय ४५ जना छन् भने ७६ हजार ९ सय ४९ जनाले ज्यान गुमाइसकेका छन् ।
स्पेनमा २ लाख ५६ हजार ८ सय ५५ जना संक्रमितमा एक लाख ६३ हजार ९ सय १९ जना निको भएका छन् । २६ हजार ६० जनाको भने मृत्यु भएको छ ।
६ हप्ताको लकडाउन पछि केहि दिन अघि स्पेनले लकडाउनलाई केही खुकुलो बनाएको छ ।
यस्तै इटलीमा २ लाख १५ हजार ८ सय ५८ जना संक्रमितमा २९ हजार ९ सय ५८ जनाको मृत्यु भएको छ । ९६ हजार २ सय ७६ जना निको भएका छन् ।
यूरोपिय मूलुकमा यस भाइरसको संक्रमणबाट सबभन्दा बढि मृत्यु बेलायतमा भएको छ । त्यहाँ २ लाख ७ हजार ९ सय ७७ जना संक्रमित हुँदा ३० हजार ६ सय ८७ जनाले ज्यान गुमाइसके भने ९ सय ७० जना मात्र निको भएका छन् ।
कोरोनाले अत्यधिक प्रभावित पारेको देशको सूचीमा रुस पाँचौं स्थानमा छ । रसियामा १ लाख ७७ हजार १ सय ६० जना संक्रमित हुँदा २३ हजार ८ सय ३ जना निको भए भने एक हजार ६ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।
फ्रान्समा १ लाख ७६ हजार ६ सय ५९ जना संक्रमित हुँदा २६ हजार २८ जनाको मृत्यु भएको छ । ५६ हजार १ सय ४२ जना निको भएका छन् ।
जर्मनीमा १ लाख ६९ हजार ४ सय ३० जना संक्रमित हुँदा निको हुनेको संख्या १ लाख ४१ हजार ४ सय जना रहेको छ । ७ हजार ३ सय ९२ जनाको भने मृत्यु भएको छ ।
Categorized in अन्तर्राष्ट्रिय