arin enterprises

खोप पत्ता लागेपनि कोरोनाभाइरस कहिल्यै नहराउने डब्लुएचओको चेतावनी

SamacharDesk – विकाश | २०७७ जेठ १, बिहिबार

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले खोप पत्ता लागे पनि यो भाइरस समुदायमा रहिरहने चेतावनी दिएको छ ।

बुधवारको प्रेस ब्रिफिङमा डब्लुएचओले कोरोनाभाइरस कहिल्यै नहराउने चेतावनी दिएको हो ।

साथै, डब्लुएचओका आपतकालिन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस हराउँछ भन्ने भविष्यवाणी नगर्न पनि चेतावनी दिएका छन् ।

‘कोरोनाभाइरस हाम्रै समुदायबाट कहिल्यै नजान सक्छ । यसविरुद्धको खोप बनिहाले पनि नियन्त्रणका लागि निकै ठूलै प्रयासको आवश्यकता पर्छ’ निर्देशक डा. रायनले भने ।

सयभन्दा बढी खोपहरू विकासका क्रममा रहेपनि दादुरा जस्ता अन्य रोगहरू नहराएको रायनले स्मरण गर्दै महामारी अन्त्यका लागि सबैले योगदान दिनुपर्ने उनले बताए ।

महामारी नियन्त्रणमा नआइसकेकाले विश्वका कतिपय देशले जारी लकडाउन खुकुलो पार्ने निर्णयप्रति समेत डब्लुएचओले आपत्ति जनाएको छ ।

भाइरस नियन्त्रणको प्रयास जारी रहेका बेला लकडाउन खुकुलो पार्दा फेरि समस्या आउनसक्ने डब्लुएचओको चेतावनी छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयिससले प्रतिबन्धहरु सहज पार्न कुनै ग्यारेन्टी तरिका नभएको बताउँदै सबै देशहरू अझै पनि उच्चस्तरको सतर्कतामा रहिरहनु जरूरी भएको धारणा राखे ।

कोरोनाभाइरसका कारण विश्वभर झन्डै ३ लाख मानिसको मृत्यु भइसकेको छ भने ४४ लाख ५० हजार भन्दा बढी संक्रमित भएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय