रसुवा बाहेक ७६ जिल्लामै संक्रमण देखियो
SamacharDesk – विकाश | २०७७ आषाढ ८, सोमबार

पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ३५ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ४ सय ६१ जना पुरुष र ७४ जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ ।
आजको तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ९ हजार ५ सय ६१ पुगेको छ । तीमध्ये ८ हजार ६ सय ६७ जना पुरुषहरु छन् भने ८ सय ९४ जना महिला हुन् ।
पाल्पामा ७५ पुरुष र १५ महिला गरी ९० जनामा संक्रमण देखिएको छ भने गुल्मीमा ४९ महिला र ७ जना महिला संक्रमित भेटिएका छन् । त्यसैगरी सर्लाहीमा पनि ४७ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ३९ पुरुष र ८ महिला रहेका छन् ।
संक्रमित जिल्लाको संख्यामा आज ओखलढुङ्गा जिल्ला थप भई ७६ पुगेको छ । ओखलढुङ्गामा एक जना पुरुषमा संक्रमण देखिएको हो । अब देशका ७७ जिल्लामध्ये वागमती प्रदेशको रसुवा जिल्ला मात्रै संक्रमणमुक्त रहेको छ ।
कोरोना संक्रमण निको हुनेको संख्या दुई हजार एक सय ४२ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ३ सय ७० जना संक्रमणमुक्त भई विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।
देशभरमा आजसम्ममा पिसिआर विधिबाट १ लाख ८१ हजार ३ सय ७१ र आरडिटी विधिबाट २ लाख ६८ हजार १ सय ३ वटा परिक्षण भएका छन् । पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ६ हजार एक सय ९८ र आरडिटी विधिबाट ५ हजार ९ सय २९ वटा परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ९० हजार ७ सय ३० हुँदा आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ७ हजार ७ सय ८९ जना रहेको छ ।
हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको ज्यान गइसकेको छ ।
Categorized in राष्ट्रिय