संक्रमित संख्या १० हजार नाघ्यो
SamacharDesk – विकाश | २०७७ आषाढ ९, मंगलबार

नेपालमा कोरोना भाईरस (कोभिड) १९ बाट संक्रमित संख्या १० हजार नाघेको छ ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ३८ जना कोभिड १९ का नयाँ संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ४ सय ४८ जना पुरुष र ९० जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ ।
आजको तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १० हजार ९९ पुगेको छ । तीमध्ये ९ हजार एक सय १५ जना पुरुषहरु छन् भने ९ सय ८४ जना महिला हुन् ।
कोरोना संक्रमण निको हुनेको संख्या दुई हजार दुई सय २४ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ७६ जना संक्रमणमुक्त भई विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।
देशभरमा आजसम्ममा पिसिआर विधिबाट १ लाख ८६ हजार ३ सय ६६ र आरडिटी विधिबाट २ लाख ७१ हजार ५ सय ८४ वटा परिक्षण भएका छन् ।
पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ४ हजार ९ सय ९५ र आरडिटी विधिबाट ३ हजार ४ सय ८१ वटा परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ८५ हजार ८ सय १३ हुँदा आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ७ हजार ८ सय १५ जना रहेको छ ।
हालसम्म यहाँ कोरोना संक्रमणका कारण २४ जनाको ज्यान गएको छ । दैलेख जिल्ला दुल्लुमा मृत्यु हुने ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
Categorized in राष्ट्रिय