थप ४२६ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या ८ हजार नाघ्यो
SamacharDesk – विकाश | २०७७ आषाढ ५, शुक्रबार

पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय २६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ३ सय ३८ जना पुरुष र ८८ जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ ।
आजको तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ८ हजार २ सय ७४ पुगेको छ । तीमध्ये ७ हजार ५ सय ६७ जना पुरुषहरु छन् भने ७ सय ७ जना महिला हुन् ।
कोरोना संक्रमण निको हुनेको संख्या एक हजार चार सय दुई पुगेको छ । पछिल्लो पटक थप २ सय ७ जना संक्रमणमुक्त भएर विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।
देशभरमा आजसम्ममा पिसिआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ र आरडिटी विधिबाट २ लाख ४७ हजार ८ सय ७४ वटा परिक्षण भएका छन् ।
पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ६ हजार २ सय ३१ र आरडिटी विधिबाट ४ हजार ३ सय ९९ वटा परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरमा क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ९ हजार ४ सय ६१ हुँदा आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ६ हजार ८ सय ५० रहेको छ ।
हालसम्म यहाँ कोरोना संक्रमणका कारण २२ जनाको ज्यान गइसकेको छ ।
