arin enterprises

सत्तारुढ दल नेकपा एमालेले गर्यो जागरणसभा

SamacharDesk | २०८१ मङ्सिर ७, शुक्रबार

सत्तारुढ दल नेकपा एमालेले आज राजधानीमा शक्ति प्रर्दशन गरेको छ ।

जागरणसभाको नाम दिई ‘अराजकता, सामाजिक विद्वेष र विकृतिका विरुद्ध लोकतन्त्र, सामाजिक सद्भाव र राष्ट्रिय एकता’ को नारासहित काठमाडौं, ललितपुर, भक्तपुर उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय र जनसङ्गठनहरुद्वारा कार्यकर्तालाई सडकमा उतारेको हो ।

जुलुसपछि दरबारमार्गमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँगको गठबन्धन २०८४ सालसम्मै जाने दाबी गर्नुभयो ।

उहाँले कम्बोडियाको टेलिकम कम्पनीमा आफ्नो लगानी रहेको भन्दै आरोप चर्चा गर्न पनि लायक विषय नभएको भन्दै उहाँले भ्रम फैलाएर जनतामा घृणा फैलाउने दुश्चेष्टाले त्यस्तो गरिएको जिकीर गर्नुभयो । चार घण्टाको उडानमा पुगिने कम्बोडिया गएर तथ्य ल्याउन पनि उहाँले चुनौती दिनुभयो ।

प्रधानमन्त्री ओलीले अहिलेको समिकरण नै २०८४ सम्म कायम हुने र आफ्नो कार्यकाल सकेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुहुने समेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “उहाँले प्रधानमन्त्रित्व १८ महिना र मैले अहिले १८ महिना चलाउँछु । यसमा कुनै भ्रम नराखे हुन्छ । त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु, त्यस्ता भ्रममा नपर्नुस् । यस्ता भ्रममा आमजनतालाई पर्न नदिनुस् । यस्ता भ्रमहरुको खण्डन गर्नुस् । ढुक्कले अगाडि बढ्नुस् ।”

एमालेको जुलुस र आमसभाका कारण उपत्यकाको ट्राफिक ब्यवस्थापन आज दिनभर अस्तब्यस्त बनेको थियो । बाहिरबाट आउने यातायातका साधनहरुलाई रिङरोड बाहिरै रोकिएको थियो भने रिङरोड भित्रै पनि सडकमा घण्टौं जाममा फसेर सास्ती ब्यहोर्नु परेको थियो ।

एमाले नेताहरुले एकलाख मानिस सडकमा उतार्ने भने पनि दरबारमार्ग समेत पुरै भरिएको थिएन ।

Categorized in राजनीति