आजबाट यमपञ्चक सुरु, कागतिहार मनाईँदै
SamacharDesk – बिराज | २०८० कार्तिक २५, शनिबार

आज कार्तिक कृष्ण, यमपञ्चकको क्रममा कागको पूजा गर्दै काग तिहार मनाईँदैछ । नेपालीहरुको दोश्रो महान चाड तिहारको क्रममा आज पहिलो दिन कागको पूजा गरिएको छ ।
कागलाई यमराजको दूत, सन्देशवाहकको रुपमा पूज्ने गरिन्छ । कागलाई मनपर्ने मिठो खानेकुराहरु दिएर आजको दिन कागको पूजा गर्ने गरिन्छ ।
कागलाई शुभ समाचार दिने अथवा पाहुना आउने खबर दिने पंक्षीको रुपमा लिने गरिन्छ ।
साथमा कागले क्वा क्वा कराउँदै अशुभ सन्देश दिन्छन् भन्ने मान्यता पनि समाजमा रहेको छ । यसै मान्यता अनुसार घरको छानामा बसी काग कराएमा शुभ बोल शुभ बोल भन्ने चलन समाजमा अद्यापि रहेको छ ।
धर्मशास्त्रहरु अनुसार पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण यमराजलाई लगिदिने र पृथ्वीलोकमा ल्याउने काम कागले गर्दछ ।
आकाश मार्गबाट छिटो सन्देश ल्याउने लग्ने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति रहेको छ ।
यसको साथमा कागलाई पुर्खाको प्रतीक पनि मानिन्छ । रोटी भिजाएर कागलाई दिए पितृदोष टर्ने कथा ज्योतिषमा पाइन्छ ।
काग फोहरमा बसेर सडेगलेको कुहिएको खाएर बस्छ । यस्तो ठाउँमा खानेकुरा भेटाए अरू कागलाई पनि खानलाई बोलाउँछ । समूहमा बसेर प्रकृतिको सरसफाईको काम गर्ने पंक्षी भएकोले पनि पर्यावरण प्रिय पंक्षीको रुपमा पूज्ने गरिएको भनिन्छ ।
कागका वंशगत र स्वभावगत विविधतालाई समेटेर काकःशास्त्र पनि बनाइएको छ ।
Categorized in संस्कृति