नारायणको पूजा आराधना साथै तुलसी विवाह गरेर हरिवोधनी एकादशी मनाईँदै
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ११, बिहिबार

आज हरिबोधनी एकादशी, भगवान विष्णुको पूजा आराधना गरि मनाईँदैछ ।
आषाढ शुक्ल एकादशीका दिन क्षीर सागरमा सयन गर्नुभएका अर्थात सुत्नुभएका भगवान् विष्णु आज उठ्नुहुने धार्मिक विश्वास रहेको छ । भगवान सुत्नुहुने एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने उठ्नुहुने हुने एकादशीलाई हरिवोधनी एकादशी भनिने हो ।
आजको दिन वैष्णवहरु व्रत बसी भगवान नारायणको पूजाअर्चना गर्ने गर्दछन् । हरिवोधनीमा एकादशीमा व्रत बसेर भगवान नारायणको पूजा अर्चना गर्नाले सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ । भगवान विष्णुलाई एक पत्र तुलसी समर्पित गर्नाले बैकुण्ठ लोक प्राप्त हुने धार्मिक मान्यता छ ।
आजको दिन विशेषगरी सख्खरखण्ड, पिँडालु आदि कन्दमुल र फलफूल भगवान नारायणलाई चढाई व्रतालुहरू प्रसादका रूपमा ग्रहण गर्ने गर्दछन् ।
यो अवसरमा नेपालका विभिन्न नारायण मन्दिरहरुको साथै काठमाडौं उपत्यकाका चार नारायणहरु र बुढानीलकण्ठमा मेला नै लाग्ने गर्दछ । तर यस वर्ष महामारीको अवस्थामा कोभिड संक्रमणको जोखिमका कारण मन्दिरहरु बन्द रहेका छन् भने मेला पनि स्थगित भएको छ ।
भविष्योत्तर पुराणमा अन्यभन्दा हरिवोधनी एकादशीमा गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ ।
आजकै दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह पनि गरिन्छ । हरिशयनी एकादशीका दिन घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको हरिवोधनी एकादशीका दिन बिवाह गर्ने परम्परा रहेको छ ।
भगवान गणेश आदि देवताहरुको तथा शालिग्रामको विधिवत रुपमा पूजा गरेर तुलसीलाई षोडशोपचार पूजा गर्दै तुलसी विवाह गर्ने गरिन्छ ।
हरिबोधिनी एकादशीलाई यस वर्षको चाडपर्वहरुको खाता वन्द भएको विगुलकारुपमा लिने गरिन्छ । कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाशे बत्तिलाई आजबाट बाल्न बन्द गरिने चलन पनि छ ।
प्रत्येक वर्ष २४ वटा एकादशी पर्दछन् । अधिकमास पर्ने वर्षमा २६ वटा एकादशी पर्दछ । सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइने हरिवोधनी एकादशीलाई ठुलो एकादशी पनि भनिन्छ ।
हिन्दु धर्ममा एकादशी व्रतलाई महत्वपूर्ण मानिन्छ ।
Categorized in संस्कृति