arin enterprises

बराहले पाए नयाँ मुकुट

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १३, शनिबार

ललितपुरको प्रशिद्ध ‘कार्तिक नाच’ अन्तर्गत प्रस्तुत गरिने बराह नाचका लागि बराहले नयाँ मुकुट पाएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर १६ ले बराहको लागि बनाइएको चाँदिको नयाँ मुकुट कार्तिक नाच प्रवन्ध समितिलाई हस्तान्तरण गरेको छ ।

शुक्रबार राति कार्तिक डबलीमा ललितपुर महानगरपालिका–१६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले कार्तिक नाच प्रवन्ध समितिका अध्यक्ष किरण चित्रकारलाई मुकुट हस्तान्तरण गर्नुभयो ।

मुकुट हस्तान्तरणपछि बराहले सोही नयाँ मुकुट लगाएर बराह नाच प्रस्तुत गरेको थियो ।

बराहले लगाउने मुकुट सय वर्षपछि फेरिएको समितिका प्रचारसंयोजक सञ्जय शर्मा राजोपाध्यायले बताउनुभयो । बराहले लगाउने मुकुट धेरै पुरानो र जीर्ण भइसकेकोले नयाँ मुकुट तयार पारिएको हो ।

१६ वडाकै सहयोगमा गत वर्ष नरसिंहले लगाउने मुकुट फेरिएको थियो ।

सोही अवसरमा वडाध्यक्षले शाक्यले प्रवन्ध समितिको अक्षय कोषको लागि १० लाख रुपैयाँ प्रदान गर्नुभएको छ ।

शाक्यले सांस्कृतिक र पर्यटकीय नगरी ललितपुरमा थुप्रै अर्मूत संस्कृति लोपोन्मुख अवस्थामा रहेको चर्चा गर्दै त्यसको पुनर्जीवन र चिरस्थायीत्वका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

वडाअध्यक्ष शाक्यले एक वर्षअघि गरेको प्रतिबद्धता अनुरुप रकम र मुकुट प्रदान गरेर संस्कृति संरक्षणमा लाग्नेहरुको उत्साह बढाई दिएको समितिका अध्यक्ष चित्रकारले बताउनुभयो ।

‘संस्कृति संरक्षणका लागि कुनै एक व्यक्ति वा एउटा संस्थाले गर्छु भनेर सकिन्न, सबैको साथ र सहयोग चाहिन्छ, अध्यक्ष चित्रकारले भन्नुभयो । ‘संस्कृति संरक्षणमा वडाले एउटा उदाहरण पेश गरेको छ ।’

नेपालकै निरन्तर रुपमा चल्दै आएको सबैभन्दा लामो नाचको रुपमा लिइन कार्तिक नाच यसपालि कोरोना महामारीका कारण दुई दिनमा छोट्याइएको छ । शुक्रबार बराह अवतार देखाउँदै शुरु भएको यस वर्षको कार्तिक नाच आज राति नरसिहं अवतार देखाउँदै सम्पन्न हुनेछ ।

Categorized in संस्कृति