arin enterprises

दुई दिनमा सिमित गर्दै सम्पन्न गरियो कात्तिक नाच

SamacharDesk – बिराज | २०७७ मङ्सिर १४, आइतबार

नरसिंह नाच प्रदर्शनसँगै यस वर्षको कात्तिक नाच सम्पन्न भएको छ ।

हिजो राती ललितपुर मंगलबजारको कात्तिक डबलीमा कात्तिक नाच अन्तर्गत नरसिंह नाच देखाइएको थियो ।

यस वर्ष ललितपुर महाःद्यःननिका महेश राजोपाध्याय नरसिंह बनेर कात्तिक डबलीमा उत्रेका थिए । कृष्ण मन्दिरका पुजारी नरसिंह बनेर नाच्नुपर्ने परम्परा अनुरुप अहिले पुजारी पालो चलाइरहेका राजोपाध्याय नरसिंह बनेका हुन् ।

ललितपुरको महाद्यःननिमा बस्दै आएका देव ब्राम्हण राजोपाध्यायहरुले कृष्ण मन्दिरको पूजा पालैपालो चलाउने गरेका छन् ।

यसैगरी किरण चित्रकार दैत्य बनेका थिए ।

दैत्यलाई ब्युँताउने काम भने तलेजु पुजारी निरण ज्वालानन्द राजोपाध्यायले गरेका थिए ।

नरसिंहले छोएपछि मुर्छित हुने दैत्य हिरण्यकश्यपुलाई तलेजुका मूल पुजारीले ब्युँताइदिने परम्परा छ । तलेजुका मूल पुजारी अनन्त ज्वालानन्द राजोपाध्यायको अस्वस्थताको कारण तलेजु पुजारी निरण ज्वालानन्दले यसपालि यो परम्परालाई निरन्तरता दिएका हुन् ।

यस वर्ष कोरोना महामारीका कारण सिमित संख्याको सहभागीतामा दुई दिन मात्र नाच चलाइएको थियो ।

गत शुक्रबार बराह अवतार प्रदर्शन गरिएको थियो ।

सिद्धिनरसिंह मल्लले चलाउन लगाएको कात्तिक नाच हालसम्म निरन्तर चल्दै आएको एक मात्र देव नाचको रुपमा दावी गरिएको छ ।

३ सय ७९ वर्ष पुरानो दावी गरिएको यो नाच विगतमा पनि विभिन्न अवस्थाका कारण छोट्याइएको भएपनि अहिलेसम्म कहिल्यै नरोकिएको कार्तिक नाच प्रवन्ध समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताउनुभयो ।

Categorized in संस्कृति