arin enterprises

बालाचतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २२, सोमबार

बालाचतुर्दशीको अवसरमा पशुपतिमा हुने दीपदान यस वर्ष नहुने भएको छ । बालाचतुर्दशीको अवसरमा पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान कोरोना महामारीको अवस्थामा संक्रमणको जोखिमका कारण यस वर्ष नहुने भएको हो ।

प्रत्येक वर्ष मार्ग कृष्ण त्रयोदशीको बेलुकीदेखि रातभरी आफ्नो परीवारका दिवंगत पितृको नाममा पशुपतिमा दीपदान गर्ने गरिन्छ । त्यस्तै चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ ।

यसरी दीपदान गर्ने र शतबीज छर्नेहरु लाखौंको संख्यामा पशुपतिमा पुग्ने गर्दछन् ।

लाखौंको संख्यामा मानिसहरु भेला हुने र भौतिक दूरी कायम गरी दीप दान गर्न असम्भव देखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यद्यपि चतुर्दशीको बिहान भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका उपाय अपनाएर शतबीज छर्न सकिने कोषले जनाएको छ ।

यस वर्ष आउँदो मंसीर २८ गते बालाचतुर्दशी पर्व पर्न आएको छ । त्यो हिसाबले दीपदान २७ गते राती र शतबीज छर्ने २८ गते विहान हुन आउँछ ।

यस दिन शिवालयमा दीपदान गरी शतबीज छरेमा दिवङ्गत पितृले पाउने विश्वास गरिन्छ ।

Categorized in संस्कृति