विद्युत प्राधिकरण महसुल नतिर्ने उद्योगहरुको लाइन काट्दै
SamacharDesk | २०८० पौष ९, सोमबार

डेडिकेटेड र ट्रङ्क लाइनबापतको महसुल भुक्तान नगरेका थप पाँच उद्योगको नेपाल विद्युत् प्राधिकरणले लाइन काटेको छ ।
प्राधिकरणले लामो समय सम्म ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काट्न थालेको हो ।
पछिल्लो पटक थप पाँचवटा उद्योग सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, सोनापुर सिमेन्ट, अशोक स्टिल र त्रिवेणी स्पिनिङ मिल्सको लाईन काटेको हो । प्राधिकरणले ५० करोडभन्दा बढी बक्यौता तिर्न बाँकी उद्योगको लाइन काटेको छ ।
मन्त्रीपरिष्दले पारित गरेको प्रतिवेदन कार्यान्वयनमा विद्युत् नियमन आयोगले आवश्यक निर्णय गर्न ढिलाइ गरेपछि नेपाल विद्युत् प्राधिकरणले मन्त्रीपरिषद, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको पत्राचार तथा अदालतका आदेशलाई आधार मान्दै लाइन काट्ने कार्यलाई तीव्रता दिएको हो ।
यसअघि शुक्रबार एक अर्ब रुपियाँभन्दा माथि महसुल बक्यौता रहेका चार सिमेन्ट उद्योग जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो ।
त्यस्तै आइतबार ५० करोड रुपियाँभन्दा धेरै महसुल बाँकी रहेका पाँच उद्योगको विद्युत् आपूर्ति काटिएको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार ६१ वटा कम्पनीले ट्रंक र डेडिकेटेड लाइनको सुविधा लिएर बक्यौता तिरेका छैनन् ।
सावाँ २० अर्बमा ब्याज र जरिवाना पाँच अर्ब रुपैयाँ गरी उद्योगले २५ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको र उनीहरुले पनि समयमा भुक्तानी नगरे लाइन काटिने चेतावनी प्राधिकरणले दिएको छ ।
Categorized in राष्ट्रिय