arin enterprises

आज दर खाने दिन

SamacharDesk | २०८१ भाद्र २०, बिहिबार

हिन्दू महिलाहरुको महिलाहरुको महान पर्व हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाईँदैछ ।

दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा लिइन्छ । तीजको दिन दिनभर निराहार ब्रत बस्नुपर्ने भएकोले त्यसको आडका लागि अघिल्लो दिन पोषिलो शक्तिवद्र्धक तथा शरीरलाई उर्जा दिने खालका खानेकुरा खाने चलन रहेको छ ।

दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । शाब्दिक रूपमा दर भनेको दरो या बलियो भन्ने बुझिन्छ ।

भोलि व्रत या पूजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको अवस्थामा अघिल्लो दिनको राति दरिलो वा आडिलो खाना खाएर सुत्ने, सकेसम्म ढिलो खाना खाएर सुत्ने चलन थियो, यही चलनलाई 'दर खाने दिन' भनिएको हो ।

सनातन हिन्दु धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यसै दिनदेखि दिनबाट सुरु हुन्छ ।

विशेषगरी नेपाली नारीहरूले मनाउने हरितालिका तीजको अघिल्लो दिन माइतीले आफ्ना चेलीलाई बोलाएर वा लिन गई दर खुवाउने परम्परा छ । दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन् ।

कर्म घरमै रहेका महिलाले पनि परिवारका सदस्यसँगै दर खाने गर्छन् । यस दिन परिवारका सबै सदस्यहरू, आफन्तहरू र साथीहरूलाई आमन्त्रित गरिन्छ ।

सबैजना एकै ठाउँमा भेला भएर भोजन गर्छन्, जसले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । महिलाहरूले वर्षदिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन् ।

तिजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्म घरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पिर, मर्कालाई नारीले पोख्ने माध्यम पनि हो तीज ।

Categorized in संस्कृति