आज दशैंको सातौं दिन, घरघरमा फुलपाती भित्र्याईँदै
SamacharDesk – बिराज | २०७७ कार्तिक ७, शुक्रबार

आज आश्विन शुक्ल सप्तमी, वडादशैंको सातौं दिन, फुलपाती ।
आजकै दिनबाट बडादशैंको रमझम पनि शुरु हुने गर्दछ । आश्विन शुक्ल प्रतिपदाको दिन जमरा रोपी शुरु हुने बडादशैंको चहलपहल भने आजबाट देखिन थाल्दछ ।
तर यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण भने प्राय धेरैजसोले औपचारिकता मात्र पुरा गर्दै चाड मनाइरहेका छन् ।
आज फुलपातीको दिन व्राम्हण क्षेत्री समुदायमा आज आ–आफ्नो परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइन्छ ।
आजको दिन घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्र्याइन्छ ।
आजै गोरखाबाट फुलपाती ल्याइ हनुमानढोकास्थित दशैंघरमा भित्र्याउने गरिन्छ ।
यसक्रममा गोरखाबाट धादिङसम्म मगर जातिका छ जनाले फुलपाती बोकेर ल्याउने गर्छन् भने धादिङबाट काठमाडौंको जमलसम्म छ जना ब्राह्मणले ल्याउँछन् ।
नवरात्रीको सातौं दिन कालरात्रीको पूजा गरिँदै
नवरात्रको क्रममा आज सातौं दिन कालरात्री देवीको पूजा आराधना गरिँदैछ ।
सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्रि भनिन्छ ।
कालो वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी कालरात्रीका ती हातहरूमा क्रमशः तरवार, मसाल, वरमुद्रा र अभयमुद्रा हुने गर्दछ ।
उनको टाउकाको झाँक्रो फिजाएको जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह झल्कने माला रहेको हुन्छ ।
श्वाससँगै कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ ।
यिनको आराधना, उपासना गरेमा शुभ फल दिने भएकोले कालरात्रीको एक नाम ’शङ्करी’ पनि रहेको छ ।
नवरात्रीको क्रममा आजको दिन वैदिक मत अनुसार कालरात्रीको पूजा गर्ने गरिन्छ भने तान्त्रिक मत अनुसार महाकालीको आराधना गर्ने गरिन्छ ।
Categorized in संस्कृति