कोरोना महामारीका बीच दशैं
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ कार्तिक १२, बुधबार

नेपालीहरुको महान चाड दशैं हरेक बर्ष धुमधामसँग मनाउने गरिन्थ्यो । तर यस वर्ष भने यस्तो हुन सकेन ।
कोरोना भाइरस महामारीको कारण यो बर्षको दशैं भने प्रभावित हुन पुग्यो ।
विगतका वर्षहरुमा साथीभाईहरुको भेटघाट, नातागोतामा टिका, नखत्या, चङ्गा उडाउने आदि विभिन्न गतिविधिसँगै दशैंको रौनक बेग्लै नै हुन्थ्यो ।
यसको साथमा दशैंकै सेरोफेरोमा उपत्यकामा विभिन्न जात्रा पनि मनाइने गरिन्छ । यी जात्राहरुले पनि यो बेलाको वातावरणमा हर्षोल्लास थप्ने गथ्र्यो ।
यस वर्ष भने कोरोना संक्रमणको जोखिमकै कारण यी जात्राहरुमध्ये कुनै औपचारिकतामा मात्र सिमित हुन पुग्यो भने कुनै जात्रा त स्थगित नै भयो । महामारी र संक्रमणको जोखिमको अवस्थामा यस वर्ष बडा दशैंको बीच कुन कुन जात्राले कसरी निरन्तरता पायो र कुन कुन जात्रा स्थगित भए, एकपल्ट नियालौं ।
१) पचली भरैवको जात्रा, पचिमर्हः
हरेक बर्ष आश्विन शुक्ल पंचमीका दिन धुमधामसँग गरिने पचली भैरवको जात्राले यो महामारीका बीच पनि निरन्तरता पाएको छ ।
विगतका वर्षहरुमा झैं धुमधामका साथ नगरिए पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई खट बोक्नेहरुले पिपिई लगाएर पचली भैरवको खटलाई नगर परिक्रमा गराउँदै जात्रा सम्पन्न गरिएको थियो ।
२) खोकनाको सिकाली जात्रा
काठमाडौं उपत्यकाको प्राचीन नेवार बस्ती, खोकना । देशका अन्य भूभागमा दशैं मनाइने बेला यहाँ भने सिकाली जात्रा हुने गर्दछ । खोकनामा दशैं मनाईँदैन ।
यस वर्ष पनि खोकनामा सिकाली माईको जात्रा धुमधामसँग नै भएको छ ।
३) भक्तपुरको नवदुर्गा नाच
हरेक बर्ष आश्विन शुक्ल दशमीदेखि आषाढ कृष्ण अष्टमी अर्थात भलभलाष्टमीसम्म भक्तपुरमा नवदुर्गा गणको देवी नाच निकालिन्छ ।
यो महामारीको अवस्थामा संक्रमणको जोखिमलाई ध्यानमा राख्दै कममात्र व्यक्तिलाई सहभागी गराई नवदुर्गा भवानीको जात्रा पनि निरन्तर भएको छ ।
कुन कुन जात्रा स्थगित भए :
१) आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापनादेखि पापांकुश एकादशीसम्म चल्ने अष्टमातृका नाच (गं प्याखं) ।
२) आश्विन शूक्ल नवमीको दिन मंगलबजारमा निकालिने थसिमल पायः (खड्ग जात्रा) ।
३) अश्विन शूक्ल दशमी र कोजाग्रत पूर्णिमामा मंगलबजारको मूलचोकमा ल्याइने थेचोको नवदुर्गा नाच ।
४) आश्विन शूक्ल सप्तमीमा मण्डीछेँ आगमवाट मूछेँ आगममा ल्याइने मानमानेश्वरी (मूछेँ माजु) को जात्रा ।
औपचारिकतामात्र पुरा गर्दै यस वर्षको दशैं र यस चाडसँगै आउने परम्परागत संस्कृतिहरु सम्पन्न भए । दशैंको रौनक पनि खासै त्यत्ति देखिएन ।
चाड सकिएसँगै बोलाइने नेवार समाजको नखत्या पनि कोभिड महामारीको कारण प्रभावित भएको छ ।
यस्तो अवस्थामा यसपालि तिहार कस्तो हुने हो भन्ने चिन्ता धेरैको रहेको छ । तिहार र यससँग जोडिएका परम्पराहरु पनि महामारीबाट प्रभावित हुने कुरा भने प्राय निश्चित नै छ ।
Categorized in संस्कृति