"दबू"को आफ्नै भवन बन्ने
SamacharDesk – राम डंगोल | २०८० आषाढ २९, शुक्रबार

नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको केन्द्रीय समिति भवनको आज शिलान्यास सम्पन्न भएको छ ।
नेवाःहरुको गतिविधिको केन्द्रको रुपमा पनि लिएको उक्त भवनको शिलान्यास दबूका अध्यक्ष पवित्र बज्राचार्यको हातबाट आज एक कार्यक्रमबीच सम्पन्न भएको छ ।
नेपालको गौरवको संस्कृति, सम्पदा, मन्दिर, डबू निर्माण गर्दै देशको सान बनेको नेवाःहरुको साझा सर्वाेच्च संगठनको आफ्नै भवनको निर्माण गर्ने शुरुवात भएको छ ।
नेपालीहरुको नै पहिलो संगठन भारतको कलकत्तामा “च्वसा पासाः” नामक संगठन गठन गरेर नेपाल भाषाको निम्ति संघर्ष गरेका थिए । त्यहीबेलादेखि त्यो संघर्ष क्रमैसँग नेपालभाषा मंका खलः हुँदै हाल विकसित रुप नेवाः देय् दबू हो ।
चःमति १५ वडा स्थित उक्त भवन निर्माणका लागि करिब ४ आना जग्गा खरिद गर्न स्वदेश तथा विदेशमा रहेका जनस्तरबाटै आर्थिक सहयोग जुटाइएको थियो । सो अवसरमा आर्थिक सहयोग गर्नु हुने महानुभावहरुलाई अध्यक्ष पवित्र बज्राचार्यबाट धन्यवादपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा नेवाः देय् दबूको आफ्नै भवन शिलान्यासमा भाग लिनु हुने सबैलाई स्वागत गर्दै अध्यक्ष पवित्र बज्राचार्य नेवाः आदिभूमिइ नेवाः देय् दबूको भवनको निर्माण हुने भएकोले खुसी व्यक्त गर्नुभयो । शिलान्यासपश्चात भवन काठमाडौं महानगरपालिकाको सहयोग निर्माण हुने जानकारी अध्यक्ष बज्राचार्यले दिनुभयो ।
कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ, दबूका संरक्षक मल्ल के. सुन्दर, केन्द्रीय सल्लाहकार एवं पूर्व मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, पूर्वमन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, काठमाडौं महानगरपालिका प्रवक्ता नवीन मानन्धर, १५ वडाध्यक्ष ईश्वरमान डंगोल, २१ वडाध्यक्ष उदय चुडामणि बज्राचार्य, २३ वडाध्यक्ष मचाराजा महर्जनलगायत विशिष्ट तथा अग्रज व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
Categorized in समाज