arin enterprises

एक महान गायकको मृत्यु – आजसम्मै रहस्यकै गर्भमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ १९, शुक्रबार

४९ वर्ष पहिले, आजकै दिन ‘द लिजार्द किङ्ग’ नामले चिनिने द डोर्स ब्यान्डका गायक जिम मोरिसन यस संसारवाट बिदा भएका थिए । उनको मृत्यु कसरी भयो, कसैलाई थाहा छैन । उनको मृत्युको रहस्य अहिलेसम्म पनि ईतिहासकै गर्भमा लुकेको छ ।

अन्तर्राष्ट्रिय संगीत क्षेत्रमै एक महान गायकको रुपमा लिइने जिम मोरिसन सन् १९७१ जुलाई ३ मा पेरिसस्थित आफ्नै अपार्टमेन्टमा मृत अवस्थामा भेटिएका थिए । 

पेरिसस्थित एक अपार्टमेन्टको तेस्रो तलामा जिम मोरिसन र उनकी प्रेमिका पामेला कर्सन बसिरहेका थिए । मोरिसनको मृत्यु भएको पनि पहिलोपटक उनको प्रेमिकाले नै थाहा पाएकी थिइन् ।

पुलिस रिपोर्ट अनुसार मृत्युको अघिल्लो साँझ मोरिसन र पामेला दुवै अत्याधिक हेरोइन र मदिरा सेवन गर्दै राति अबेरसम्मै गीत गाउँदै बसेका थिए ।

‘स्ट्रङ’ हेराइनको सेवनपछि मध्यरातमा मोरिसनलाई बेस्सरी खोकी लाग्न थाल्यो । ठीक होला कि भनेर पामेलाले उनलाई तातो पानीमा नुहाउन बाथरुम पठाइन् । नुहाउन गएका मोरिसनलाई पामेलाले त्यसपछि जीवित पाइनन् ।

उनको मृत्युको कारण त्यही ड्रग्स ओभरडोज हेरोइन बनिदियो ।

धेरैले जिम मोरिसनको मृत्युलाई ड्रग्ससँग जोड्छन् भने हार्टफेलिएरको कारणले मृत्यु भएको भन्नेहरू पनि छन् ।

द न्युयोर्क टाइम्सका पूर्व सम्वाददाता साम बेर्नेटले आफ्नो पुस्तक ‘द इन्ड–जिम मोरिसन’ मा मोरिसनको मृत्यु हुनु अघिल्लो दिन ‘लेफ्टब्याङ्क नाइट क्लब’मा उनले अत्यधिक हेरोइनको सेवन गरेका र उनको मृत्यु हेरोइन ओभरडोजको कारणले नै भएको हो भनेर लेखेको छ ।

त्यस्तै पुलिस रिपोर्टमा पनि उनको मृत्युको कारण अत्यधिक हेरोइन सेवन गरेकाले हार्टअट्याक भएर भएको भनी लेखेका छन् । 

तर उनका नजिकका मानिसहरुको भने अर्कै तर्क रहेको छ । 

उनको मृत्युमाथिका हल्लाहरूमा अनुमानहरू धेरै छन र अड्कलबाजीहरु पनि फरक फरक छन् । तर अहिलेसम्म पर्याप्त अनुसन्धान नभएकाले उनको मृत्युको यथार्थ अहिलेसम्म रहस्यको गर्भमै लुकेको छ ।

 

मोरिसनको संक्षिप्त परिचय–

मोरिसनको जन्म सन् १८४३ डिसेम्बर ८ का दिन फ्लोरिडामा भएको थियो । उनी सानैदेखि आफ्नो काममा जिम्मेवार थिए र संगीत र साहित्यमा पनि धेरै रुचि राख्थ्ये । 

उनको घरमै सांगीतिक माहौल थियो । उनका बुवा पियानो बजाउनमा सिपालु थिए ।

किशोरावस्थामा मोरिसन बुवाको आँखा छल्दै मदिरामा मस्त भएर युवतीहरूसँग बरालिँदै हिड्थे । उनलाई मन लागेन स्कुलको कक्षा छोडेर हिँड्ने गर्थे । तर उनी निकै राम्रो विद्यार्थी थिए । 

सन् १९६१ मा उनले हाइस्कुल सकाए ।

त्यसपछि उनी नाटक र फिल्ममा रमाउन थाले । युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलस (युसिएलए) मा साहित्य विषय लिएर भर्ना भएपछि नाटक र फिल्ममा उनकोे रुची अझ बढ्न थाल्यो । 

मोरिसनले ‘फस्र्ट लभ’ नामक फिल्म बनाए । त्यस्तै, साथीसँग मिलेर ‘अब्सक्युरा’ नामक अर्काे फिल्म पनि बनाएका छन् । 

सन् १९६५ मा ‘युसिएलए’बाट ग्य्राजुएसन गरे । 

 

द डोर्सको शुरुवात

ग्य्राजुएसन पछि उनको जिन्दगीको बाटो बदलियो । चलचित्र नाटकतिरको लगावमा ब्रेक लाग्यो र संगीत क्षेत्रमा लागे । 

सन् १९६५ ‘द डोर्स’ ब्यान्डको स्थापना भयो । उनले आफ्नो सांगीतिक यात्राको शुरुवात त्यहिँबाट गरे ।

‘द डोर्स’ ब्यान्डको नाम एल्डस हक्सलेको पुस्तक ‘द डोर्स अफ पर्सेप्सन’बाट राखिएको थियो । 

जिम मोरिसन यस ब्यान्डका गायक हुन् । ब्यान्डका प्राय चर्चित गीत उनैले लेखेका छन् ।

सन् १९६६ मा ब्यान्डले क्यालिफोर्नियाको नाइट क्लब ‘ह्विस्की अ गो गो’ मा आफ्नो पहिलो गीत गाए । 

ब्यान्डले यस्तै क्लबहरुतिर गीत गाए तर ती क्लबहरु खासै चर्चित थिएन । सन् १९६७ मा ‘एलेक्ट्रा रेकर्ड’ सँग जोडिएपछि द डोर्स ब्यान्डलाई धेरैले चिन्न थाले । 

द डोर्सको ‘लाइट माइ फायर’ १९६७ को जुलाइ/अगस्टमा ‘विलबोर्ड हट–१००’ को चार्टमा पर्न सफल भएको थियो । 

ब्यान्डले १९६७ मा ‘स्ट्रेन्ज डेज’ नामक दोस्रो एल्बम, सन् १९६८ मा ‘वेटिङ फर द सन’ नामक तेस्रो एल्बम सार्वजनिक गर्यो । यी सबै एल्बममा मोरिसनको ठूलो देन रहेको छ ।

सन् १९७० मा द डोर्सको अन्तिम एल्बम ‘एलए वुमन’ रेकर्ड गरेपछि मोरिसन र पामेला पेरिसतिर लागे । 

उनलाई आफ्ना केही बानीहरू परिवर्तन गर्न मन थियो । प्रेमिका पामेलालाई लिएर युरोप घुम्ने उनको इच्छा थियो । केही इच्छा पूरा गरे, धेरै इच्छा पुरा गर्नु अगाबै २७ बर्षको उमेरमा उनको मृत्यु भयो ।

मृत्यु भएको तीन दिनपछि मोरिसनलाई पेरिसस्थित ‘पेर लासेस’ मा गाडियो । पेरिसमा यो ठाउँलाई टुरिस्ट एरियाको रूपमा चिनिन्छ । सन् १८०४ मा नेपोलियन बोनापार्टले स्थापना गरेको ‘पेर लासेस’ ओस्कर वाइल्ड, म्याक्स अर्नेष्ट, जस्ता धेरै सेलिब्रिटीको चिहान हो । 

Categorized in पेजथ्री