arin enterprises

‘चलचित्र पत्रकार’ लोकार्पणमा चलचित्र पत्रकारिताबारे बहस

SamacharDesk – विजयरत्न | २०८२ कार्तिक २२, शनिबार

नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको चित्रण र विश्लेषण गरिएको ‘चलचित्र पत्रकार’ पुस्तक लोकार्पण भएको छ ।

चलचित्र पत्रकार सङ्घद्वारा प्रकाशित सो पुस्तकको शुक्रवार आयोजित एक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसी) लगायत विभिन्न संघसंस्थाका अध्यक्ष, पदाधिकारीहरुाबट संयुक्त रुपमा लोकार्पण गरिएको हो ।

बोर्डका अध्यक्ष डिसीको साथमा चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार सङ्घका अध्यक्ष नारायण प्रधान, निर्माता सङ्घका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा लगायतले पुस्तकको लोकार्पण गरे ।

पुस्तक लोकार्पणमा नेपाल चलचित्र नृत्य सङ्घका अध्यक्ष जनक कार्की, चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, पूर्वअध्यक्षहरु शान्तिप्रिय, विदुर गिरी, कलाकार केदार घिमिरे, साहित्यकार डा नवराज लम्साल, राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाललगायतको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष डिसीले नेपाली चलचित्रको विकासक्रममा चलचित्र पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउँदै चलचित्र पत्रकारितामा खोजी पत्रकारिताले स्थान पाउनुपर्नेमा जोड दिए ।

पत्रकार सङ्घका अध्यक्ष बलामीले चलचित्र पत्रकारितालाई शुद्धीकरण र व्यावसायिक तुल्याउँदै नयाँ पुस्तालाई सक्रिय बनाउन लागि परेको बताउनुभयो ।

कार्यक्रममा चलचित्र पत्रकारिताका खोजी पत्रकारिताका विषयमा बोर्डका अध्यक्ष डिसी, कलाकार संघका अध्यक्ष निरौला, पत्रकारहरु शान्तिप्रिय, ध्रुव लम्साल, मदन रिजाल र रघुनाथ सापकोटाबीच विचार मन्थन भएको थियो ।

छलफलमा चलचित्र पत्रकारहरुले कुनै निश्चित चलचित्रको प्रचारक नभई पत्रकारिताको सिद्धान्त बमोजिम स्वतन्त्र रिपोर्टिङ गर्नुपर्नेमा जोड दिइएको थियो ।

Categorized in पेजथ्री